२०८१ चैत्र २६, ०५:२२
#कोशी #ब्रेकिङ न्युज

चैत २६ र २७ गते ‘अरुणोदय उत्सव’

काँकरभिट्टा । मेचीनगरको काँकरभिट्टास्थित अरुणोदय माध्यमिक विद्यालयले चैत २६ र २७ गते ‘अरूणोदय उत्सव’को आयोजना गर्ने भएको छ ।
उत्सवका बारेमा जानकारी दिने उद्देश्यले आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका अध्यक्ष भगिरथ राईले भने, ‘महोत्सवमा सबै प्रस्तुति विद्यार्थीहरूकै हुन्छ । किताबमा अध्ययन गरेका विषयलाई व्यावहारिक रूपमा नै सिकाउन यो उत्सव आयोजना गरिएको हो ।’
अभिभावकहरूको समेत सहभागिता रहने उत्सवमा पहिलो दिन चैत २६ गते कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीको प्रस्तुती र दोस्रो दिन चैत २७ गते कक्षा ६ देखि १० कक्षाका विद्यार्थीको प्रस्तुती रहने विद्यालयका प्रिन्सिपल दुर्गाबहादुर लुइँटेलले जानकारी दिए ।
उत्सवमा अभिभावकहरूको नृत्य प्रतिगोगिता, पुस्तक प्रदर्शनी तथा बिक्री, विद्यार्थीहरूले बनाएका चित्रकला, हस्तकला, दैनिक खाद्यान्नलाई विद्यार्थीद्वारा प्रदर्शनी र विक्री, विद्यार्थीको आँखा र दाँत परीक्षण, रमाइलो खेलकुदसँगै राई, नेवारी, आर्यन, राजबंशी, शेर्पा, तामाङ र मगर समुदायको खाना विद्यार्थीहरूले नै बनाएर प्रदर्शनी तथा बिक्री गर्ने प्रिन्सिपल लुइँटेलले बताए ।
उत्सवका लागि विद्यार्थीहरूले १३ वटा स्टल तयार गर्ने प्राथमिक तह इन्चार्ज नेहा रेग्मीले बताइन् । त्यस्तै, विद्यार्थीहरूले विभिन्न पुस्तक पढेर त्यस पुस्तकका बारेमा विद्यार्थीले आफ्‌नो धारणा समेत राख्ने कार्यक्रम रहेको प्रिन्सिपल लुइँटेलले बताए ।
उत्सव अवधिभर ४ सय विद्यार्थी, ४ सय अभिभावक र अन्य अतिथिहरू दुईसय गरी करीब एक हजार जनाको जमघट हुने अध्यक्ष राईले बताए । उत्सव मेचीनगर–६ काँकरभिट्टास्थित अरुणोदय माविको परिसरमा नै सञ्चालन हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *