बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानीमा त्रिपक्षीय भिडन्त

बाहुनडाँगी । बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि त्रिपक्षीय भिडन्त हुने पक्का भएको छ । चैत १६ गते मेचीनगर–२ स्थित युनाइटेड बोर्डिङ स्कुल मेचेडाँगीमा हुने निर्वाचनबाट ३ वर्षे कार्यकालका लागि नेतृत्व चयन हुँदैछ ।
निर्वाचनमा ३ वटा प्यानलले आफ्नो उम्मेद्वारी खडा गरी चुनावी मैदानमा उत्रिएका छन् । निर्वाचन मिति नजिकिँदै गर्दा चुनावी माहोल तातेको छ । राजनीतिक दललाई प्रतिष्ठाको लडाइँ भएको छ । नेतृत्व हत्याउन यतिखेर राजनीतिक दलहरु सक्रिय भएर लागि परेका छन् ।
खानेपानीको साखलाई जोगाउने चुनौति नेपाली कांग्रेसलाई छ भने नेकपा एमाले बर्चश्व तोड्ने कसरतमा लागेको देखिन्छ । घोषित रुपमा चुनावी मैदानमा नरहे पनि नेकपा माओवादी केन्द्र र रास्वपाले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएर चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेस, राप्रपा, संघीय लिम्बुवान लोकतान्त्रिक मोर्चाको संयुक्त लोकतान्त्रिक प्यानलले हेमलाल गुरागाईंलाई अध्यक्ष पदमा अघि सारेको छ । त्यसैगरी, उपाध्यक्षमा सागर कार्की, सचिवमा चन्द्रप्रसाद सुवेदी (सन्तोष सुवेदी) कोषाध्यक्षमा पूर्णिमा कट्टेल, सहसचिवमा राजन न्यौपाने, महिला सदस्य पदमा राधा नेपाल र विनु लिम्बू, खुल्ला सदस्यतर्फ युवराज पौडेल, चन्द्रलाल ढुंगाना रहेका छन् ।
त्यसैगरी, नेकपा एमालेको प्रगतिशील समूहतर्फबाट अध्यक्ष पदमा पासाङ तामाङ, उपाध्यक्षमा पदम शर्मा (घिमिरे) पुष्कर, सचिवमा गोपाल विक बराइली, सहसचिवमा सुरेश घिमिरे र कोषाध्यक्षमा पुष्पाकुमारी घिमिरे बिष्ट चुनावी मैदानमा उत्रिनेछन् । महिला सदस्य पदमा भगवती राई, उमा राउत, खुल्ला सदस्यमा डम्बर बहादुर लिम्बेल मगर, किशोरकुमार दुलाल रहेका छन् ।
त्यसैगरी, बाहुनडाँगी सिद्धिखोला एकीकृत खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष समेत रहेका नेकपा माओवादी केन्द्र निकट मेघनाथ खड्काले समेत अध्यक्षमा मनोनयन दर्ता गराएका छन्् । सचिवमा स्वतन्त्र उम्मेद्वार राजन कार्की, खुल्ला सदस्यमा रामकुमार दाहाल, देउकुमार लिम्बूले उम्मेद्वारी दर्ता गराएका थिए ।
तीन प्यानल चुनावी प्रतिष्पर्धामा आएयता पनि विशेष गरि संयुक्त लोकतान्त्रिक प्यानल र प्रगतिशिलबीच कडा प्रतिस्पर्धा देखिन्छ । माओवादी र स्वतन्त्रको संयुक्त गठबन्धनले पनि सम्मानजनक मत ल्याउने आँकलन गरिएको छ । उक्त संस्थामा कुल १ हजार ३ सय २७ मतदाता रहेको निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईंले बताए ।
संस्थाको एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष (महिला मात्र), सहसचिव एक जना, ४ सदस्यमा २ जना महिला अनिवार्य गरी ९ पदका लागि २२ जनाको उम्मेद्वारी परेको छ । मेचीनगर–१, २ र ४ गरी तीन वडाका मतदाताले निर्वाचनमा भाग लिनेछन् ।
उम्मेद्वार घरदैलो कार्यक्रमलाई तीब्रता दिइरहेका छन् । प्रगतिशील प्यानलतर्फबाट अध्यक्ष पदका उम्मेद्वार पासाङ तामाङ मेचीनगर १ का निवर्तमान वडा अध्यक्ष समेत हुन् ।