धाइजन एफसीले उचाल्यो विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कपको उपाधि

बाहुण्डाँगी । विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को उपाधि धाइजन एफसीले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा धाइजन एफसीले रेडहर्ष इलामलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको छ । विजेता धाइजन एफसीले १ लाख ११ हजार रुपैयाँ र उपविजेता रेडहर्ष इलामले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे ।
बाहुण्डाँगी युवा क्लबको आयोजनामा भएको प्रतियोगिता मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न भएको हो । फाइनल खेलमा धाइजन एफसीका आशिष चापागाईले ५ औँ, ४५ औँ र इञ्जुरी समय गोल गर्दै ह्याट्रिक पुरा गरे । रेडहर्षका लागि संगीन लिम्बूले एक गोल फर्काए पनि जितको लागि पर्याप्त भएन ।
खेलको प्लेयर अफ द म्याच, सर्वाधिक गोलकर्ता र प्लेयर अफ द टुर्नामेन्ट धाइजनका आशिष चापागाई घोषित भए । उनले नगद ५, ५ र १५ गरी २५ हजार नगदसहित ट्रफी प्राप्त गरे । प्रतियोगिताको इमर्जिङ प्लेयर आयोजकका मनोज कार्की, बेष्ट कोच धाइजन एफसीका पुर्ण सुब्बा, बेष्ट डिफेन्स धाइजनकै सञ्जय प्रधान घोषित हुँदै जनही नगद ५–५ हजार प्राप्त गरे ।
खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् भने प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले गरेको हो । बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गरेका हुन् ।
प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमी रहेको छ भने सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि. र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेका छन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।
प्रतियोगितामा भारतको दुईसहित ८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगितामा रेड हर्ष एफ.सी. इलाम, के. एफ.सी. सिलिगुडी (भारत), धाइजन एफ.सी., ब्रदर्श युनाइटेड एफ.सी., शनिश्चरे एफ.सी. झापा, जहदा एफ.सी., मोरङ, आयोजक बाहुण्डाँगी युवा क्लब, रथखोला फुटबल एकाडेमी नक्सलबारी (भारत) सहभागिता जनाएका थिए ।
प्रतियोगिता सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा सहयोगी दाताहरुलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रममा मेचीनगर नगर उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले मगर, समाजसेवी नेत्रराज क्षेत्री, मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, मेचीनगर–१० का वडा अध्यक्ष नारायण खनाल, १ का वडा अध्यक्ष रामकुमार राई, २ का अध्यक्ष दीपक बराल, विद्या विकास एकेडेमीका निर्देशक बद्री निरौला, मेचीनगर–४ का पूर्व वडा अध्यक्ष नविन बराल, वडा सदस्य पवन बराईली, नुरबहादुर कार्की, संस्थाका पूर्व अध्यक्ष पोषककुमार दर्जी, पूर्व अध्यक्ष विक्रम थापा, बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चौलागाईलगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका अध्यक्ष जीवनकुमार मोतेको सभापतित्व रहेको कार्यक्रमको सञ्चालन सचिव निरज राईले गरेका थिए ।