प्रथम बाहुनडाँगी च्यालेञ्ज कप: उपाधिका लागि धाइजन र रेडहर्ष इलाम भिड्दै

बाहुनडाँगी । विद्या विकास एकेडेमी प्रथम बाहुनडाँगी च्यालेञ्ज कप २०८२ को फाइनल खेल शनिबार हुँदैछ । उपाधिका लागि शनिबार धाइजन एफसी र रेडहर्ष इलाम आमनेसामने हुँदैछन् ।
मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा हुने फाइनल खेलको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।
बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा धाइजन एफसीले सेमिफाइनलमा आयोजक बाहुनडाँगी युवा क्लबलाई २–० ले पराजित गरेको थियो भने रेडहर्ष इलामले शनिश्चरे एफसीलाई सडनडेथमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
यसअघिका क्वाटर तथा सेमिफाइनलमा समेत उत्कृष्ट खेल प्रदर्शन गरिसकेका दुवै टिमको फाइनल प्रतिष्पर्धा रोचक हुने बताइन्छ । यसअघिका खेलमा समेत खचाखच दर्शक रहने गरेकोले फाइनल खेल हेर्ने दर्शकको संख्या बढ्न सक्ने भन्दै व्यवस्थापनमा जुटेको आयोजकले जनाएको छ । दर्शकलाई निःशुल्क रुपमा खेल हेर्ने व्यवस्था गरिएको छ ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले रु १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिब प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् ।
खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् । प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले गरेका छन् । बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गरेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमी रहेको छ भने सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि. र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेका छन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहको छ ।
भारतको दुईसहित ८ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा रेड हर्ष एफ.सी. इलाम, कञ्चनजंघा. एफ.सी. सिलिगुडी (भारत), धाइजन एफ.सी., ब्रदर्श युनाइटेड एफ.सी., शनिश्चरे एफ.सी. झापा, जहदा एफ.सी., मोरब, आयोजक बाहुण्डाँगी युवा क्लब, रथखोला फुटबल एकाडेमी नक्सलबारी (भारत) सहभागिता रहेका थिए ।