शनिश्चरे एफसीलाई सडनडेथमा पराजित गर्दै रेडहर्ष इलाम उपाधि नजिक

बाहुण्डाँगी । रेडहर्ष इलाम विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को फाइनलमा पुगेको छ । सडनडेथमा शनिश्चरे एफसीलाई हराउँदै रेडहर्ष इलाम उपाधिनजिक पुगेको हो ।
बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको फाइनल पुगेको रेडहर्ष इलामले कम्तिमा ६१ हजार सुरक्षित गरेको छ । रेडहर्ष इलामले फाइनलमा आयोजक बाहुण्डाँगी युवा क्लब र धाइजन एफसीबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल चैत २० गते शनिबार हुनेछ ।
मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलमा दुवै टिमले निर्धारित समयमा १–१ को बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । ५–५ जनाको पेनाल्टी सुटआउट पनि बराबरी भएपछि निर्णय सडनडेथबाट भएको थियो । रेडहर्ष एफसीका कप्तान विवेक सुनाम, मदन जबेगु, रोमन योगी, अभिमन्यु राई, सन्देश खवास र सांगे शेर्पाको प्रहार गोलमा परिणत भएको थियो । शनिश्चरे एफसीका कप्तान सौरव लिम्बू, पुजन राई, दिवस उरावँ, अभिषेक गुरुङ, श्याम मुर्मुले गोल गरे भने प्रविन राईको प्रहार रेडहर्षका गोलरक्षक निकेश पाण्डेले असफल बनाए ।
खेलको ५५ औँ मिनेटमा रेडहर्ष इलामका लागि सन्देश खवासले गोल गर्दै अग्रता दिलाए । दिपेश राईको पासलाई हेडमार्फत गोल गर्दै खवासले टिमलाई १–० को स्थितिमा पुर्याएका थिए । खेलको इञ्जुरी समयमा दिवस उराँवले गोल गर्दै शनिश्चरेलाई खेलमा फर्काएका थिए । सौरव लिम्बूले प्रहार गरेको कर्नरलाई हेडमार्फत दिवसले उत्कृष्ट गोल गरे । निर्धारित समयको इञ्जुरी समयमा रेडहर्ष एफसी सम्हालिन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।
२९ औँ मिनेटमा रेडहर्षका सांगे शेर्पाको प्रहार पोलमाथिबाट बाहिरियो । रेडहर्षका संगीन लिम्बूले गरेको प्रहार शनिश्चरेका डिफेन्सले ब्लक गर्दा रिबाउन्ड भएको बललाई पेनाल्टी एरियाबाट सांगे शेर्पाले गोल गर्न चुके । उनले खेलमा अग्रता लिने सुनौलो मौका खेर फालेका थिए । दोश्रो हाफमा रेडहर्षका विक्रम राईको लेफ्ट फुटेट सर्ट पोलमाथिबाटै बाहिरियो । अधिकांश समय बल नियन्त्रणमा राखेको शनिश्चरे एफसी फिनिसिङमा चुक्दा धेरै मौका खेर फाल्यो । ६८ औँ मिनेटमा शनिश्चरेका अभिषेक गुरुङको प्रहार गोलरक्षक निकेस पाण्डेलाई लाग्दै पोलमा लागेको थियो । उक्त बललाई रेडहर्षका डिफेन्सले क्लियर गरेको थियो ।
खेलको प्लेयर अफ द म्याच रेडहर्ष इलामका गोलरक्षक निकेस पाण्डे घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् ।
भोलिको दोश्रो सेमिफाइनल खेल आयोजक बाहुण्डाँगी युवा क्लब र धाइजन एफसीबीच हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले रु १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले गरेका छन् । बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गरेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमी रहेको छ भने सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि. र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेका छन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।