विभिन्न विधाका उत्कृष्टलाई पुरस्कृत गर्दै नकलबन्दा साकोसले मनायो स्थापना दिवस

मेचीनगर । आफ्नो १७ औं स्थापना दिवसको अवसर पारेर नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाले आइतबार विभिन्न विधामा उत्कृष्ट १५ जनालाई सम्मान गरेको छ ।
संस्थाले स्वर्गीय अमृतबहादुर गुरुङ स्मृति अक्षयकोषबाट उत्कृष्ट कृषक सम्मान हेममाया अधिकारीलाई र विपन्न महिला बचतकर्ता सम्मान विन्दादेवी राजवंशीलाई प्रदान गरेको छ । सो अक्षयकोष सहकारी संस्थाका पूर्व अध्यक्ष होमराज गुरुङले आफ्ना स्व. बुवाको स्मृतिमा स्थापना गरेका हुन् । उत्कृष्ट कृषक अधिकारीलाई कृषि औजार र विपन्न बचतकर्ता राजवंशीलाई न्यानो कपडाका साथ सम्मान पत्र प्रदान गरिएको थियो ।
त्यसैगरी कृष्णप्रसाद/सावित्रा गेलाल स्मृति अक्षयकोष तथा पदमबहादुर/जानुका कार्की स्मृति अक्षयकोषबाट सहकारीले बालबचतकर्तातर्फ श्रृजिता श्रेष्ठलाई तथा लालबहादुर प्रधान र शान्ति शर्मालाई उत्कृष्ट ज्येष्ठ नागरिक सम्मान प्रदान गरेको छ । सहकारीले जेहेन्दार विद्यार्थी सम्मानतर्फ मेची आधारभूत विद्यालयका छात्र सुशान्त तामाङ र छात्रा रितिका भट्टलाई प्रदान गरेको थियो ।
त्यसैगरी, सहकारीले उत्कृष्ट कर्मचारी सम्मान शिवराम खड्का ( राजु) लाई प्रदान गरेको छ । उत्कृष्ट सञ्चालकतर्फ हिरालाल पुरोहित घोषित भए । सहकारीले उत्कृष्ट ऋणीतर्फ केसिङ श्रेष्ठ र लक्ष्मीमाया राईलाई सम्मान गरेको छ । सहकारीले शैक्षिक सत्र २०८० को एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र– छात्राहरुलाई समेत सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा आर्यन चौधरी र कृषला राई छन् । सम्मानित सबैलाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान पत्र तथा नगद प्रदान गरेका थिए ।
सहकारी संस्थाका अध्यक्ष केसरप्रसाद तिम्सिनाको सभापतित्व तथा मेचीनगर–५ का वडाध्यक्ष कनकबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्कीले सहकारीका मूल्य मान्यता र सिद्धान्तहरुलाई पालना नगर्दा देशका विभिन्न ठाउँमा सहकारीमा समस्या श्रृजना भएको बताए । उनले सहकारीलाई सहि दिशामा अगाडि बढाउन सदस्यहरुको विश्वासलाई कायम राख्दै सहकारीका मूल्य र मान्यताहरुलाई पालन गर्नुको विकल्प नभएको बताए ।
सोही अवसरमा मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकी, काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भूपाल सिवाकोटी, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका सल्लाकार संयोजक होमराज गुरुङलगायतले बोलेका थिए ।
सहकारी संस्थाकी उपाध्यक्ष माया प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन ब्यवस्थापक महेन्द्रबहादुर कुँवरले गरेका थिए ।