क्यालिफोर्नियाको डढेलोमा कम्तीमा १६ जनाको मृत्यु
काठमाडौँ — अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण कम्तिमा १६ जनाको ज्यान गएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् ।
हालसम्म ३८ हजार एकडभन्दा धेरै क्षेत्रमा डढेलो फैलिएको छ । अधिकारीहरुका अनुसार डढेलोले १२ हजारभन्दा बढी घर तथा अन्य संरचना जलिसकेको छ ।
प्यालिसेड्स, इटन, केनेथ र हर्स्टमा डढेलो नियन्त्रणमा ल्याउने प्रयास भइरहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । प्यालिसेड्स क्षेत्रमा कम्तीमा २३ हजार ६ सय एकडभन्दा धेरै क्षेत्रमा डढेलो फैलिएको छ । प्यालिसेड्सको डढेलो हालसम्म ११ प्रतिशत मात्र नियन्त्रणमा आएको छ । प्यालिसेड्सको डढेलो ब्रेन्टवुड, एन्सिनो र माण्डेविल क्यान्यन जस्ता चर्चित क्षेत्रतर्फ पनि तीव्र गतिमा डढेलो सल्किइरहेको छ । त्यस्तै इटनमा १४ हजार १ सय एकडभन्दा बढी भूभागमा डढेलो फैलिएको छ ।
आगलागीका कारण लस एन्जलसमा विद्युत् आपूर्ति रोकिएको छ । लस एन्जलसका करिब ३५ हजार घरमा अहिले बिजुली छैन । डढेलोका कारण चर्चित हलिउड क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ ।