२०८१ माघ ५, ०७:५१
#कोशी #ब्रेकिङ न्युज #सहकारी

साना किसान कृषि सहकारी बाहुनडाँगीको स्वास्थ्य सम्बन्धी सचेतना, माघ ११ गते शिविर सञ्चालन गरिने

बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले एक दिवसीय क्यान्सर तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले युनिभर्सल युथ ग्रुप तथा युनिभर्सल गुप्त रोग स्वास्थ्य सेवा केन्द्रको प्राविधिक सहयोगमा बिहीबार मेचीनगर–४ स्थित बाहुनडाँगी सामुदायिक भवनको सभाहलमा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।

क्लिनिकल फार्मेसीका डाक्टर अमिश उप्रेतीले सहजीकरण गरेको स्वास्थ्य सचेतना कार्यक्रममा साना किसान कृषि सहकारी संस्था लि. बाहुनडाँगीकी अध्यक्ष टुकादेवी दाहालको सभापतित्व तथा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा युनिभर्सल युथ ग्रुपका अध्यक्ष सुनिल धिमाललगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन साना किसान कृषि सहकारी बाहुनडाँगीका मुख्य प्रबन्धक पोषककुमार दर्जीले गरेका थिए ।

डाक्टर अमिश उप्रेतीले सहभागीहरुलाई दैनिक उपभोग्य वस्तु प्रयोगमा ध्यान दिनु पर्ने बताए । आफ्‌ना नानीबाबुहरुलाई जंक फुड, अस्वस्थ खानेकुरादेखि टाढा राख्नुपर्ने सुझाए । उनले क्यान्सर रोग विभिन्न चरणमा हुने र समयमा पत्ता लागे उपचार सम्भव रहेको बताए । युनिभर्सल युथ ग्रुपले सप्तरी, सिरहा, धनुषा, उदयपुर, खोटाङ, तेह्रथुम, इलाम, मोरङ, झापा, सुनसरीलगायतका जिल्लामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट युनिभर्सल युथ ग्रुपले २ हजार जनाले भिआईए परीक्षण गरिएकोमा ४० प्रतिशतमा संक्रमण फेला परेको युनिभर्सल युथ ग्रुपका अध्यक्ष सुनिल धिमालले बताए । उनले संक्रमण फेला परेका ५ प्रतिशतलाई क्यान्सर पुष्टि भएको बताए ।

साना किसानले आफ्‌ना सदस्यहरुलाई अर्ग्यानिक तरकारी उत्पादनसँग जोड्ने कार्य गर्दै आएको छ । संस्थाले समयानुकुल तरकारीको निःशुल्क विउविजन वितरण गरिरहेको छ । २०५३/०३/३१ मा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता गरी २०५३/१०/०१ देखि साना किसान विकास आयोजनाको सम्पूर्ण कारोबार तथा व्यवस्थापनमा शुरु गरेको संस्थाको मेचीनगरका ५ वटै वडामा कार्यक्षेत्र रही २३९ समूह भित्र १५२८ घर परिवारलाई आबद्ध गरेको छ । संस्थाले विगत ७ वर्षदेखि साना किसान विकास बैंक, इजरायली राजदुतावास र साना किसान कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा संचालन भएको कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तरगत ११ महिने कृषि तालिम लिएर फर्किएका छन्‌ ।

साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले माघ ११ गते बिहान ९ बजेदेखि बाहुनडाँगी सामुदायिक भवनमा निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । शिविरमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिनुका साथै विशेषज्ञ सेवा गाइनो तथा सर्जनको सेवा उपलब्ध हुने मुख्य प्रबन्धक पोषककुमार दर्जीले बताए । शिविरमा निःशुल्क ल्याब टेस्ट (रगत जाँच) र औषधि वितरण गरिने युनिभर्सल युथ ग्रुपका अध्यक्ष धिमालले जानकारी दिए । शिविरमा जेनरल सर्जनद्वारा पाइल्स, फिस्टुला, हाइड्रोसिल, गाठागुठी रोगको उपचार गर्दा ५० प्रतिशत छुट दिइने अध्यक्ष धिमालले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *