२०८१ कार्तिक ६, १६:१७
#ब्रेकिङ न्युज

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या,बढ्दै,सतर्कता अपनाउन चिकित्सकको आग्रह

देशभर डेंगु सङ्क्रमितको सङ्ख्या १२ सय नाघेको छ ।त्यसमध्ये झापामा मात्र एक सय १२ जना संक्रमित रहेका छन् । काठमाडौँपछि झापामा डेंगु सङ्क्रमितको सङ्ख्या देखिएको हो ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या पछिल्लो छ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ । यो तथ्याङ्क २०२४ जनवरी १ देखि हिजो बुधबारसम्मको हो ।

महाशाखा अनुसार हिमाली जिल्लाहरू मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र जुम्ला बाहेकका ७२ जिल्लामा डेंगुको संक्रमण पुष्टि भएको छ ।सबैभन्दा बढी डेंगु फैलिएका १० जिल्लामा काठमाडौँमा एक सय ४१ जना, झापामा एक सय १२ जना, चितवनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनहुँमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुङ्गामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन् ।

प्रादेशिक तथ्याङ्क हेर्दा सबैभन्दा बढी बागमतीमा ४ सय २८ जना, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदूरपश्चिममा १ सय ४०, मधेस प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ ।

यस वर्ष डेंगुका कारण बिरामीको ज्यान भने गएको छैन । ईडीसीडीका अनुसार सन् २०१९ मा महामारीको रुपमा फैलिएको डेंगुले १७ हजार ९ सय ९२ जना संक्रमित भएकामा ३ जनाको मृत्यु भएको थियो । त्यसैगरी, डेंगुकै कारण २०२२ मा ८८ जना र २०२३ मा २० जनाको ज्यान गएको थियो ।

डेंगु संक्रमण देखिएका बिरामीमा उच्च ज्वरोसँगै बेस्सरी टाउको दुख्ने, आँखाको गेडी, हाडजोर्नी, मांसपेशी तथा ढाड दुख्ने, रिँगटा लाग्ने, वाकवाकी÷बान्ता हुने लक्षण देखिन्छ । त्यस्तै श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, बेहोस हुने जस्ता लक्षण पनि देखा पर्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै डेंगी संक्रमणको जोखिम बढ्ने हुँदा नियन्त्रणका लागि सरोकारवाला निकायले सक्रियता देखाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।RSS

Leave a comment

Your email address will not be published. Required fields are marked *