२०८१ कार्तिक ६, १६:३६
#खेलकुद #ब्रेकिङ न्युज

चन्द्रगढीलाई हराउँदै बाहुनडाँगी फाइनलमा

बाहुनडाँगी । बाहुनडाँगी युवा क्लब दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा ब्रदर्स युनाइटेड चन्द्रगढीलाई २–० गोल अन्तरले पराजित गर्दै बाहुनडाँगी युवा क्लब उपाधि नजिक पुगेको हो ।
विजयी भएको बाहुनडाँगीले कम्तिमा ५१ हजार सुरक्षित गरेको छ भने पराजित हुँदै ब्रदर्स युनाइटेड चन्द्रगढी उपाधि होडबाट बाहिरिएको छ । बाहुनडाँगीका लागि दुवै गोल अभिषेक गुरुङले गरेका थिए । जर्सी नम्बर ७ का अभिषेकले खेलको २३ औँ मिनेटमा फस्ट बार च्याप्दै हानेको प्रहारले जाली चुमेको थियो । त्यसैगरी, ४६ औँ मिनेटमा अभिषेकलेनै दोश्रो गोल गरे । निशान प्रधानको पासलाई सदुपयोग गर्दै अभिषेकले व्यक्तिगत दुई गोल गरेका थिए । घरेलु मैदानमा दर्शकको पूर्ण साथ पाएको बाहुनडाँगीका खेलाडीले तुलनात्मक रुपमा केही राम्रा मुभ बनाएका थिए ।
खेलको म्यान अफ दी म्याच अभिषेक गुरुङ घोषित भए । उनलाई नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी मेचीनगर–२ का वडाध्यक्ष दीपक बराल र साना किसान सहकारी संस्था बाहुनडाँगीका मुख्य प्रबन्धक पोषककुमार मोतेले वितरण गरे ।
बाहुनडाँगी जेसीजको आयोजनामा जारी प्रतियोगिता चैत २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । भोलिको दोश्रो सेमिफाइनल खेल रोलिङ फुटबल क्लब र काँकरभिट्टा फुटबल टे«निङ सेन्टरबीच हुने आयोजकले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *