२०८१ कार्तिक ७, १२:५९
#खेलकुद #ब्रेकिङ न्युज

प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८०ः फुटबलतर्फ मेचीनगर– ६ र १५ सेमिफाइनलमा

मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष फुटबल खेलतर्फ मेचीनगर ६ र १५ ले सेमिफाइनल यात्रा तय गरेका छन् । काँकरभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगितामा मेचीनगर १५ ले वडा नम्बर ७ लाई र मेचीनगर–६ ले वडा नम्बर ४ लाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो ।
शुक्रबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मेचीनगर ७ लाई मेचीनगर १५ ले १–० को झिनो गोल अन्तरले पराजित गरेको छ । निक्कै प्रतिष्पर्धात्मक भएको खेलको ४८ औँ मिनेटमा मेचीनगर–१५ का तर्फबाट सञ्जय हेमरमले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच सञ्जय हेमरम घोषित हुँदै नगद २ हजारसहित प्रमाण पत्र प्राप्त गरे ।
त्यसैगरी, शुक्रबारै सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा मेचीनगर ६ विजयी बन्यो । वडा नम्बर ६ ले ४ लाई सडन डेथमा पराजित गरेको हो । निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
तर, टाइब्रेकर पनि बराबरी भएपछि सडन डेथबाट सेमिफाइनल प्रवेश गर्ने टिमको टुंगो लागेको थियो । सडन डेथमा ६ नम्बर वडा ९–८ ले विजयी भएको थियो । समान टिमबाट ११ जनाले पेनाल्टी प्रहार गरेपछि खेलको निर्णय भएको थियो । टाइब्रेकरका ५ पेनाल्टी सुटआउटमा ३–३ को बराबरी भएको थियो । खेलको म्यान अफ दी म्याच मेचीनगर–६ का देवान भुजेल घोषित भएसँगै नगद २ हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
भोलिको पहिलो क्वाटरफाइनल खेल वडा नम्बर २ र १० बीच, दोश्रो खेल वडा नम्बर ११ र १३ बीच हुने आयोजकले जनाएको छ । फुटबलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र काँकरभिट्टा भेट्रान फुटबल क्लबको प्राविधिक सहयोग रहेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *