२०८१ कार्तिक ६, १६:२१
#खेलकुद #ब्रेकिङ न्युज

मेचीनगर स्पोर्टस् मेनियाः फुटबलतर्फ मेचीनगर– २, १० र ११ क्वाटरफाइनलमा

मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० जारी रहेको छ । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष फुटबल खेलतर्फ मेचीनगर वडा नम्बर २, १० र ११ क्वाटरफाइनल प्रवेश गरेका छन् । काँकरभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगितामा वडा नम्बर ९, १२ र ३ पहिलो चरणबाटै बाहिरिएका छन् ।
बिहीबार सम्पन्न पहिलो खेलमा वडा नम्बर २ ले ९ माथि ३–० को सहज जीत दर्ता गरेको छ । वडा नम्बर २ का लागि ५ औँ मिनेटमा निशान प्रधानले, १४ औँ मिनेटमा पुजन राईले र ३० औँ  मिनेटमा आयुष राईले गोल गरे । खेलको म्यान अफ दी म्याच पुजन राई घोषित हुँदै नगद २ हजारसहित प्रमाण पत्र प्राप्त गरे ।
त्यसैगरी, दोश्रो खेलमा वडा नम्बर १० ले १२ लाई ३–० को गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर १० का लागि निरज कार्कीले ४औँ मिनेटमा, विराज लिम्बूले १३ औँ मिनेटमा, आदित्य ढुंगेलले ५३ औँ मिनेटमा गोल गरे । खेलको म्यान अफ दी म्याच वडा नम्बर १० का निरज कार्की घोषित हुँदै नगद २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यसैगरी, बिहीबार सम्पन्न तेश्रो खेलमा वडा नम्बर ११ विजयी बन्यो । वडा नम्बर ११ ले ३ लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । वडा नम्बर ११ का सुजित मेचे, केशव नरभाग, सुजल राजवंशी र अनेशरण राईको प्रहार गोलमा परिणत भएको थियो । वडा नम्बर ३ का आयुष राई, निभ्यल गड्तौलाले गोल गरे भने सेवान मगर र अनिश थापा मगरको प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए ।
भोलिको पहिलो क्वाटरफाइनल खेल वडा नम्बर ४ र ६ बीच, दोश्रो खेल वडा नम्बर ७ र १५ बीच हुने आयोजकले जनाएको छ । फुटबलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र काँकरभिट्टा भेट्रान फुटबल क्लबको प्राविधिक सहयोग रहेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *