२०८१ कार्तिक ७, १२:५९
#ब्रेकिङ न्युज

आज पौने ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरू शपथग्रहण

काठमाडौँ : सत्ता समीकरण बदलिएसँगै बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्‍मा आज १४ मन्त्री थपिँदै छन्।

आज पौने ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरूको शपथग्रहणको कार्यक्रम तोकिएको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताइन्।

सबै मन्त्रीलाई मन्त्रालयको जिम्मेवारीसहित सपथग्रहणको तयारी गरिएको छ। यसअघि हिजो तीन जनालाई विना विभागीय मन्त्रीको सपथ गराइसकिएको छ।

आज उनीहरूको पनि जिम्मेवारी तोकिने छ। केही अघि मात्रै प्रधानमन्त्री प्रचण्ड मन्त्रीहरूको नामावलीसहित पत्र बोकेर राष्ट्रपति कार्यालयमा गएका थिए। त्यसपछि कार्यालयले सपथको समय तोकेको हो। एमालेको भागमा ८ मन्त्रालय परेको छ। यस्तै माओवादी केन्द्रको भागमा ५, रास्वपाको भागमा ४ मन्त्रालय तोकिएको छ।

कोको बन्दै छन् मन्त्री 

एमालेका रघुवीर महासेठलाई उपप्रधान तथा भौतिक पूर्वाधार, पदम गिरीलाई कानुन, हरि उप्रेतीलाई रक्षा, भगवति चौधरीलाई महिला बालबालिका, राजेन्द्र राईलाई खानेपानी, दामोदर भण्डारीलाई उद्योग, ज्वालाकुमारी साहलाई कृषि, बलराम अधिकारीलाई भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो।

यस्तै माओवादीका नरायणकाजी श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्तिबहादुर बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ।

रास्वपाका रवि लामिछानेलाई उपप्रधान तथा गृह, डीपी अर्याललाई श्रम, विराजभक्त श्रेष्ठलाई युवा तथा खेलकुद र सुमना श्रेष्ठलाई शिक्षा मन्त्रालय दिने तयारी गरिएको बताइएको छ। नेकपा एकीकृत समाजवादी भने मन्त्रालयका लागि छलफलमै छ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *