२०८१ कार्तिक ६, १६:१३

झापामा थप तीनवटा बिओपीको स्थायी संरचना निर्माण

झापा, १८ माघ । झापामा सशस्त्र प्रहरीको थप तीनवटा बोर्डर आउटपोस्ट निर्माण भएको छ । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीका लागि थप तीनवटा बिओपीको स्थायी संरचना निर्माण गरिएको हो ।

झापाको गौरीगन्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी थपिएको छ । गौरीगन्ज– २ मा बिओपी लालमाटी, गौरीगन्ज– ४ मा बिओपी अल्तामारी र कचनकवल– ५ मा बिओपी डागाबारी स्थापना भएको छ ।

ती बिओपीहरुको बुधबार कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्की, सशस्त्र प्रहरी बल नम्बर १ बराहा बाहिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललगायतले संयुक्त रूपमा उद्घाटन गरे ।

बिओपी लालमाटीमा भएको कार्यक्रमबाट संयुक्त रूपमा तीन बिओपीको पक्की संरचनाको उद्घाटन भएको सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रमुख प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिए ।

योसँगै भारतसँग १४४.२ किलोमिटर सीमा जोडिएको झापामा सीमा सुरक्षाका लागि प्रस्तावित चार गुल्म र १७ बिओपी तैनाथ रहेको अर्यालले बताए । अझै विभिन्न १५ स्थानमा बिओपी निर्माणका लागि प्रस्ताव गरिएको उनले जानकारी दिए ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले बिओपी निर्माण भए पनि त्यहाँ आवश्यक सामग्री नरहेकाले त्यसको व्यवस्थापनमा जुट्नुपर्ने बताए । बिओपी लालमाटी स्थानीय बिनिता नेम्वाङ लिम्बूले दिएको सात कठ्ठा जमिनमा बनेको छ । उक्त बिओपीको पक्की भवन एक करोड ९७ लाख ७५ हजार ६४० मा निर्माण भएको हो ।

उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक पोखरेलले अन्तर्राष्ट्रिय सीमामा हुने अपराध नियन्त्रणमा सशस्त्र प्रहरी तैनाथ रहेको बताए । उनले सीमामा हुने अपराध रोक्न सके आन्तरिक अपराध न्यूनीकरणमा सहयोग पुग्ने भन्दै सीमामा सशस्त्र प्रहरीले शून्य सहनशीलता अपनाएर काम गरिरहेको जिकिर गरे ।

झापामा थप तीनवटा बिओपीको स्थायी संरचना निर्माण

अपरिचित यात्री

Leave a comment

Your email address will not be published. Required fields are marked *