२०८१ कार्तिक ६, १९:२९
#ब्रेकिङ न्युज

त्रिशूली नदीमा बेपत्ताको खोजी तीव्र रुपमा जारी, विदेशबाट प्रविधि ल्याउन पहल

भरतपुर । गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् । सिमलताल पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजीको प्रगतिबारे जानकारी लिन उच्च सुरक्षा अधिकारीसहित चितवन आएका अर्यालले थप प्रविधिबारे दातृ निकाय र विभिन्न देशका दुतावाससँग कुरा भइरहेको जानकारी दिए ।

उनले बेपत्ताको खोजी गर्न सरकारले प्रविधिसहितका पाँच सय सुरक्षाकर्मी र गोताखोर परिचालन गरिएको बताए । “यातायात व्यवसायीसँगसमेत छलफल गरेर खोजीलाई कसरी तदारूकता दिन सकिन्छ भनेर लागेका छौँ,” उनले भने, “अहिलेसम्म पाँचवटा शव फेला परिसकेको छ ।” उनले पानीको सतह घट्दै गएपछि आधुनिक उपकरण प्रयोग गरेर खोजीलाई तीव्रता दिइने बताए । सचिव अर्यालसहित प्रहरी महाननिरीक्षक वसन्त कुँवरलगायतको सुरक्षा टोलीले आइतबारै दुर्घटनास्थलको स्थलगत निरीक्षण गरेका थिए ।

१४९ प्रहरी परिचालन

दुई बसका बेपत्ता यात्रुको खोजी गर्न एक सय ४९ सशस्त्र प्रहरी परिचालन गरिएका छन् । बेपत्ताको खोज तथा उद्धार गर्न सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११ गोताखोरसहित ७९ जना परिचालन गरिएका छन् ।

त्रिशूली नदीको तटीय क्षेत्रका विभिन्न इलाकामा पनि फौज परिचालन गरी बेपत्ता यात्रु खोज्ने काम भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । खोजी कार्यमा सशस्त्र प्रहरीका साथै नेपाली सेना र नेपाल प्रहरी पनि खटिइएका छन् ।

सशस्त्र प्रहरीले दुर्घटनास्थल सिमलतालमा प्रहरी निरीक्षकको नेतृत्वमा २५, चनौली इलाकामा नं १७ गणका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ११, गोलाघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ‘¥याफ्याटिङ बोट’सहित १५, देवघाट इलाकामा सशस्त्र प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १० र भरतपुरको पुल्चोकस्थित नारायणी नदीकिनारमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा नौ जना परिचालित भएका छन् ।

त्रिशूली नदीमा पानीको मात्रा अत्यधिक र पानी धमिलो भए पनि खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनारा क्यामेरालगायत उपकरणको प्रयोग गरी बेपत्ता यात्रुको खोजी जारी राखेका छन् ।

भरतपुर महानगरपालिकाले नारायणी नदी तटीय क्षेत्रमा सार्वजनिक अनुगमन बढाउन आग्रह गरेको छ । सिमलताल पहिरो र बस दुर्घटनास्थलको स्थलगत निरीक्षणपछि प्रमुख दाहालले भरतपुरका वडा नम्बर २९, १, ३, १६, १७, १८, २६, २७ र २८ का बासिन्दालाई पनि आग्रह गरेकी छन् ।

‘तटीय क्षेत्रमा ६ शव फेला परेको छ,’ उनले भनिन्, ‘तटीय क्षेत्रमा बसोवास गर्ने व्यक्ति र सुरक्षाकर्मीले अनुगमन गरिरहेका छन् र थप शव फेला परिरहेका छन् । यसका लागि स्थानीय व्यवस्था पूर्णरुपमा सक्रिय छ ।

भरतपुर महानगरपालिकाका प्रमुखले दुर्घटना भएको दिनदेखि नै दुर्घटनामा परी घाइते भएकाहरुको खोजीका लागि आवश्यक उपकरणको व्यवस्था गरिएको स्पष्ट पारिन् ।

उनले बेपत्ताहरुको खोजीका लागि गोताखोर खटिएको स्थानमा उद्धार टोलीका निरीक्षक र सुरक्षाकर्मीले पछिल्लो अवस्थाको जानकारी लिएकी छन् ।

प्रमुख दाहालसहित उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र जिल्ला सुरक्षा अधिकारी घटनास्थल पुगेका थिए । जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले पानीको बहाव केही घटे पनि अनुसन्धानको काम राम्रोसँग हुन नसकेको बताए । उद्धारका लागि खटिएका सुरक्षाकर्मीले ड्रोन क्यामेरा, सोनार क्यामेरा र अन्य उपकरण प्रयोग गरी बेपत्ता यात्रुको खोजी कार्य जारी राखेका छन् ।

 

त्रिशूली नदीमा बेपत्ताको खोजी तीव्र रुपमा जारी, विदेशबाट प्रविधि ल्याउन पहल

मेचीपुलमा लागुऔषध सहित एक जना भारतीय पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *