२०८१ कार्तिक ६, १६:२३
#कृषि #ब्रेकिङ न्युज #मनाेरन्जन

चैत ३० देखि बाहुनडाँगी महोत्सव हुने

मेचीनगर । बाहुनडाँगी युवा क्लबको आयोजनामा बाहुनडाँगी महोत्सव हुने भएको छ । मेचीनगरको बाहुनडाँगीमा २०८० चैत ३० देखि २०८१ वैशाख १६ गतेसम्म पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सवमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरीको स्टल राखिने बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोतेले जानकारी दिए । स्थानीय उत्पादन र कृषि उपजलाई प्राथमिकतामा राख्दै मेलामा कृषि र पर्यटनसँग सम्बन्धित स्टल राखिने जनाइएको छ ।
उनले महोत्सवमा हस्तकला, चित्रकलालाई समेत टेवा पुग्ने गरी १५ देखि २० वटासम्म स्टल राखिने बताए । महोत्सवमा कलाकारहरु जोन चाम्लिङ, लाहुरे, प्रिती आले मगर, रचना रिमाल, एलिना चौहान, नविनके भट्टराई, सविन राईलगायतले प्रस्तुति दिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
३० देखि ३२ लाखसम्म खर्च अनुमान गरिएको महोत्सवबाट आएको नाफाले बाहुनडाँगी गोल्डकप गर्ने योजना रहेको अध्यक्ष मोतले सुनाए । खेलकुदमा लगानी गरिरहेको क्लबले खेलकुदलाई प्रोत्साहन गर्ने उनले बताए । वि.सं. २०४० सालमा स्थापना भएको बाहुनडाँगी युवा क्लबले संस्थापक अध्यक्ष स्व. फन्दासिंह पाण्डेको स्मृतिमा फुटबल प्रतियोगिता समेत आयोजना गरिसकेको छ । ९९ सय जना सदस्य रहेको बाहुनडाँगी युवा क्लब हालै बाहुनडाँगीमा सम्पन्न कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोश्रो जेसीज फुटबल प्रतियोगितामा सहभागी भई च्याम्पियन बनेको थियो । महोत्सवमा २५ हजार भन्दा बढी अवलोकनकर्ता सहभागी गराउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोते, कोषाध्यक्ष ऐश्वर्या सुवेदी, बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँलगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन सचिव दिवस पौडेलले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *