२०८१ कार्तिक ६, २०:५४
#ब्रेकिङ न्युज

मेचीनगरलाई चरा संरक्षण क्षेत्र घोषणा गर्नु पर्छ : अभियन्ता देवेन्द्र खरेल

मेचीनगर । चरा तथा वन्यजन्तु संरक्षण अभियन्ता देवेन्द्र खरेलले मेचीनगरलाई चरा संरक्षण क्षेत्र (बर्ड सेञ्चुरी) घोषणा गर्नुपर्ने माग गरेकाछन् । नगरभित्र तीन सय ३७ प्रजातिका चरा पाइने र दुर्लभ मानिएका चरासमेत ठूलो सङ्ख्यामा यही क्षेत्रमा भएकाले ‘बर्ड सेञ्चुरी’ घोषणा गर्न आवश्यक रहेको उनले बताए ।

रिडर्स झापाले पर्यटन कार्यालय काँकरभिट्टाको सभाहलमा शनिबार आयोजना गरेको ‘चरी चर्चा’ कार्यक्रममा बोल्दै उनले स्थानीय सामुदायिक वनद्वारा संरक्षित बाँसबारी र कालिका सिमसार क्षेत्रलाई एकीकृत गरी ‘बर्ड सेञ्चुरी’ निर्माण गर्न सकिने र त्यसबाट पर्यटक आकर्षण बढ्ने बताए ।

नेपालबाट लोप भइसकेको घोषणा गरिएको हङरायो (हर्नबिल) चरा इलाममा खोजेर विश्वभर चर्चा पाएको मेचीनगर–७ निवासी खरेलले मेचीनगर वडा नं १५ मा दुर्लभ हरित परेवा रहेको पत्ता लगाएका थिए । ढुकुर प्रजातिको यो चरा मेचीनगरबाहेक नेपालमा अन्यत्र पाइएको छैन ।

उनका अनुसार नेपालमा पाइएका सातै प्रकारका चिबे र पाँचै प्रकारका रुप्पी मेचीनगरमा पाइएको छ भने नेपालमा पाइएका चार प्रजातिका धनेश चरामध्ये हङरायोबाहेक तीनवटा प्रकार यहीँ भेटिएको छ । अतिसङ¬्कटापन्न अर्थात् दुर्लभ चरामध्ये ठूलो बगर बट्टाई, हरित परेवा, पेटकैले कोइली, बगाले बगेडी, कालोटाउके बगेडी, कालो टाउके बिरहीचरी, ठूलो माकुरी चरी, प्याजीकाने बुङ¬्गेचरा र कानकैले बगेडी मेचीनगरमा पाइएका छन् ।नेपाल र भारतकै सबैभन्दा सानो मानिएको आठ सेमी छोटो रातोठुँडे पुष्पकोकिल र एक सय २० सेमी लामो भुँडीफोर गरुड चरा मेचीनगरमै रहेको उहाँले सप्रमाण पुष्टि गरेको छ ।

मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्षसमेत रहेका उनले चराको खोजीमा लाग्दाको अनुभव, चराको परिचय र महत्वबारे चर्चा गरेका थिए। उनले ‘मेचीनगरलाई के कुराले चिनाउँछ’ भनेर छोरीले सोधेको साधारणजस्तो लाग्ने प्रश्नबाट प्रभावित भएर चराबाटै नगरको पहिचान दिलाउने अभियानमा होमिएको बताए ।

यस क्षेत्रमा लाग्न सरकारी र संस्थागत रूपमा उल्लेख्य आर्थिक प्रोत्साहन नभए पनि व्यक्तिगत रूपमा ठूलो लगानी गरेर टाढैबाट सटिक तस्वीर खिच्न सक्ने शक्तिशाली लेन्सयुक्त क्यामरा किन्ने गरेको र मिडिया जगत्ले धेरै माया गरेर संसारभर चिनाएको उनले बताए।

परिवारबाट राम्रो सहयोग पाएको जनाउँदै उनले चरालाई नमार्न आग्रह गरे । कार्यक्रमको सुरुआतमा रिडर्स झापाकी सदस्य सञ्जु साम्पाङले विषय प्रवेश गराउँदै चरा संरक्षण अभियानबाटै खरेलले नेपालको नाम उँचो पारेकी बताएकी थिइन् ।

नेपालमा आठ सय ८६ प्रजातिका चरा रहेकामा आफूले नै हरित परेवा नामक नयाँ चराको खोजी गरेर मुलुकमा पाइने चराको सङ्ख्या आठ सय ८७ पुर्याएको बताए ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *