२०८१ कार्तिक ६, १८:०७
#खेलकुद #ब्रेकिङ न्युज

सनसिटीविरुद्ध रोमाञ्चक जीतसहित चन्द्रगढी सेमिफाइनलमा

बाहुनडाँगी । सनसिटी फुटबल क्लबमाथि रोमाञ्चक जीत निकाल्दै ब्रदर्स युनाइटेड चन्द्रगढी दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा सनसिटीविरुद्ध १–० को संघर्षपूर्ण जीत निकाल्दै चन्द्रगढी सेमिफाइनल प्रवेश गरेको हो ।


ब्रदर्स युनाइटेड चन्द्रगढीका लागि पहिलो हाफको इञ्जुरी समयमा सञ्जिव गिरीले गरेको गोलनै निर्णायक बन्यो । दोश्रो रोजाईमा परेका चन्द्रगढीका शक्ति राईको पासलाई सदुपयोग गर्दै सञ्जिवले गोललाई जाली चुमाउँदै टिमलाई जीततर्फ डो¥याएका थिए ।
सनसिटीले शुरुवातदेखिनै आक्रामक खेलेको थियो । १२ औँ मिनेटमा सनसिटीका आयुष श्रेष्ठले विपक्षी खेलाडी सबै बिट भइसकेको अवस्थामा बललाई सही दिशा दिन नसक्दा अग्रता लिनबाट चुकेको थियो । १३ औँ मिनेटमा चन्द्रगढीका कर्ण लिम्बूले गरेको प्रिकिक पोष्ट माथिबाट बाहिरियो । चन्द्रगढीका सुरज लिम्बूले १८ औँ मिनेटमा गरेको प्रहार सेकेण्ड बार हुँदै बाहिरिएको थियो ।


त्यसैगरी, ३४ औँ मिनेटमा चन्द्रगढीका शक्ति राईको वान भर्सेस वान गरेको प्रहार गोलरक्षक सन्दिप लिम्बूले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफ १–० को स्थितिमा रहेको सनसिटीले दोश्रो हाफमा उत्कृष्ट मुभ बनाए पनि बल फ्रेममा राख्न नसक्दा गोल फर्काउन सकेन । सनसिटीका लागि ५१ औँ मिनेटमा विशाल तामाङले गरेको प्रहारलाई विपक्षी गोलरक्षक दिपान्सु राउतले विफल बनाइदिए । घरेलु दर्शकको पूर्ण समर्थन पाएको सनसिटीका लागि ६० औँ मिनेटमा सञ्जोग मगरले प्रहार फ्रेममा रहन सकेन ।
८० औँ मिनेटमा चन्द्रगढीले पेनाल्टीमार्फत दोश्रो गोल गर्ने मौका पाएको थियो । सनसिटीका कप्तान विप्लब तामाङले चन्द्रगढीका खेलाडीलाई लडाएपछि पाएको पेनाल्टी विकास थुलुङले प्रहार गरेका थिए । पेनाल्टीको सदुपयोग गर्न नसकेपछि चन्द्रगढी अग्रता दोब्बर हुन चुक्यो । सनसिटीको अधिकांश प्रहार गोलमा परिणत हुन नसकेपछि खेलमा चन्द्रगढी विजयी बन्यो । चन्द्रगढीका सञ्जीव गिरी म्यान अफ दी म्याच घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँ, ट्रफी प्राप्त गरे ।
बाहुनडाँगी जेसीजको आयोजनामा जारी प्रतियोगिता चैत २२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । भोलिको अन्तिम क्वाटरफाइनल खेल काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र किलारामजोत एकलब्य युवा संघ भारतबीच हुने आयोजकले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *