२०८१ कार्तिक ७, ०५:१९
#ब्रेकिङ न्युज

छैटौँ झापा गोल्ड कपः एपिएफसँग संकटा स्तब्ध

बिर्तामोड । छैटौं संस्करणको झापा गोल्ड कपमा संकटालाई हराउँदै एपिएफ क्वाटरफाइनल प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको पहिलो खेलमा संकटा क्लब काठमाण्डौलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

निर्धारित समयमा गोलरहित बराबरीमा खेल सकिएपछि नतिजाकालागि खेल टाईब्रेकरमा धकेलिएको थियो । एपिएफका लागि दिपेश धिमाल, फोडे फोफोना, कुलदिप कार्की र सुमन श्रेष्ठले गोल गरेका थिए । संकटाका चन्दन दास र यमनबहादुर पुत्वारको प्रहारले जाली चुमेको थियो । संकटाका अजित लामाको प्रहार बिपक्षी गोलरक्षकले बचाउ गरेका थिए भने मौसम सुब्बाको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो ।

त्यसअघि भएको खेलको चौथो मिनेटमै एपिएफले अग्रता लिने अवसर गुमाएको थियो । फोडे फोफोनाको क्रसमा पेनाल्टी एरियामा अनमार्क रहेका बुद्धिमान राईले गोल गर्न सकेनन् । उनको प्रहार क्रस बार नजिकैबाट बाहिरियो । १३ औं मिनेटमा १८ यार्डबाट अनिस महर्जनको प्रहार आकासियो । २० मिनेटमा अनिसकै प्रहार गोल रक्षकले बिफल बनाएका थिए । २४ औं मिनेटमा कुलदिप कार्कीको पासमा गोल पोष्ट नजिकै रहेका अनिसको हेडर बाहिरियो । ५५ औं मिनेटमा एपिएफका अनिस रानाले पेनाल्टी एरियाबाट गरेको कढा प्रहार संकटाका गोलरक्षक निशान रानाले पञ्च गरेर बचाएका थिए । ७६ औं मिनेटमा एपिएफका प्रदीप लामाको प्रहार बारको केही नजिकबाट बाहिरिएको थियो । इन्जुरी समयमा दिपेश धिमालले मैदानको मध्यभागबाट गरेको कढा प्रहार संकटाका गोलरक्षकले मुस्किलले पञ्च गरेर बचाएका थिए । खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएको एपिएफले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

३४ औं मिनेटमा संकटाका चन्दन दासले गरेको शक्तिशाली प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले पञ्च गरेर बचाए । ६० औं मिनेटमा संकटाका कप्तान गणेश हमालको हेडर एपिएफका गोलरक्षकले पञ्च गरेर बचाए । खेलको म्यान अफ द म्याच एपिएफका एपिएफका गोलरक्षक एञ्ञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैंयाँ पुरस्कार पाए । प्रतियोगिताको बिजेताले नगद १३ लाख, उपबिजेताले ७ लाख, टफी, मेडल र प्रमाणपत्र पाउने छन् । भोलिकोे खेल नेपाल पुलिस क्लब र लिग बिजेता चर्च ब्वाइज युनाइटेड काठमाण्डौबीच हुने आयोजकले जनाएको छ ।

शनिबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुने छ । प्रतियोगितामा नेपालका ए डिभिजनसहित १० टिमको सहभागिता रहेको छ ।

डोमालाल राजबंशी रंगशालामा सुरु भएको प्रतियोगिताको प्रतिनिधिसभाका सभामुख देबराज घिमिरेले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिकुलताका बाबजुद पनि यत्रो प्रतियोगिता आयोजना गरेकोमा आयोजक समितिलाई धन्यवाद दिए । भूमाफियाको आँखा परेको डोमालाल राजबंशी रंगशालाको जमिन फिर्ता ल्याउन सबै नागरिकको सामुहिक प्रयास आवश्यक रहने बताए । उनले एक बर्षभित्र कानुनी अप्ठ्याराहरु भए संसोधन गरेर भएपनि यो जमिन रंगशालाको नाममा ल्याउनुपर्ने उनको धारणा थियो । आगामी संस्करण आफ्नै जमिनममा आयोजना गर्ने दिशामा अगि बढ्ने उनले बताए । प्रतियोगिता आयोजक समितिका अध्यक्ष बिनोद बस्नेतले बिश्वका कतिपय राष्ट्र खेलकुदकै कारण आर्थिक रुपमा मजबुत भएको बताए । राष्ट्रिय एकताका लागि खेलकुद मात्र बलियो साधन भएको बस्नेतले बताए । उनले आर्थिक संकटका बाबजुत पनि यति ठुलो प्रतियोगिता आयोजना गर्न सहयोग गर्ने दाताहरुलाई हार्दिक धन्यवाद दिए । खेलकुद मनोरञ्जनमात्र नभएर समाजलाई एकताबद्ध बनाउने कसी भएको उनको भनाई छ । जमिन बिवादका कारण रंगशाला निर्माण नभइरहेको समयमा बस्नेतले समामुखलाई बिवाद समाधान गरेर जमिन फिर्ता ल्याउन आग्रह गरे । उनले बिर्तामोडमा रंगशाला अति आवश्यक रहेको भन्दै जमिन अभावमा त्यो आवश्यकता पुरा गर्न नसकिएको बताए ।

प्रतियोगिता सुरु हुनुअघि बिविध सांस्कृतिक कार्यक्रम आयोजना भएको थियो । चर्चित गायक महेश काफ्ले र अस्मिता अधिकारीले उपस्थित हजारौं दर्शकले भरिभराउ भएको रंगशाला तताएका थिए । कार्यक्रममा लिम्बु जातिको च्याब्रुङ नाच, राई जातिको साकेला नाच, सन्थाल नाच र नेवारी समुदायको लाखे नाच प्रस्तुत भएको थियो । यसैगरी धुलाबारीको इष्ट होराइजन स्कुलका बिद्यार्थीहरुको आकर्षक नृत्य कार्यक्रममा प्रस्तुत गरिएको थियो । प्रतियोगिता आयोजना हुँदै गर्दा बिर्तामोडलाई बेहुली झैं सिंगारिएको छ ।

बिर्तामोडदेखि बिर्ताबजारस्थित रंगशाला जाने सडकमा बत्ती बालेर उज्यालो बनाइएको छ । बिर्तामोडको मुक्तिचोक झकिझकाउ बनाइएको छ । मुक्तिचोकको पुर्व–पश्चिम राजममार्गमाथि लुङता टाँगेर आकर्षण थपिएको छ । बिर्तामोडमा आउने पर्यटकले पनि सहजै झापामा भइरहेको यो प्रतियोगिताको लोकप्रियताको महसुस गर्ने छ । कार्यक्रममा जग्गादाता डोमालाल राजबंशीका नाती भिम राजबंशीलाई नगद १ लाख रुपैंयाँसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा गोल्डकप आयोजक समितिले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १ लाख ११ हजार रुपैंयाँ प्रदान गरेको थियो ।

छैटौँ झापा गोल्ड कपः एपिएफसँग संकटा स्तब्ध

सरकार र आन्दोलनरत दुग्ध किसानबीच पाँच बुँदे

Leave a comment

Your email address will not be published. Required fields are marked *