२०८१ कार्तिक ६, १६:२१
#राजनीति

आज सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदै

झापा । १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्रको उदय भएको दिनको स्मरणमा सोमबार ७४औँ प्रजातन्त्र दिवस मनाइँदैछ।

प्रजातन्त्र स्थापनाका लागि भएको संघर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले १९९७ माघमा बलिदानी दिएका थिए।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो।

जहानिया राणा शासनविरुद्ध जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।

 दिवसका अवसरमा सोमबार सरकारले सार्वजनिक बिदा दिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *