२०८१ कार्तिक ६, २०:५९
#खेलकुद #ब्रेकिङ न्युज

काँकरभिट्टा एफटिसी र यलम्बर एफसी विजयी

मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र यलम्बर एफसी स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेका छन् । मेचीनगर–५ स्थित मेची आधारभूत विद्यालयको खेलमैदानमा आइतबार सम्पन्न भएको पहिलो खेलमा काँकरभिट्टाले देविगञ्ज एफसीमाथि ४–१ को सहज जीत निकालेको छ ।
काँकरभिट्टाका लागि खेलको १८ औँ मिनेटमा प्रलाद राजवंशीले गोल गर्दै अग्रता दिलाएका थिए । प्रदिप बुढाथोकीले २६ औँ मिनेट गोल गर्दै अग्रता दोब्बर बनाए । तेस्रो गोल खमिर गिल्सन लिम्बूले ३१ औँ मिनेट गरेका थिए । देविगञ्जका लागि भने खेलको ४० औँ मिनेटमा अविरल राईले एक गोल गरे पनि जीतका लागि पर्याप्त भएन । काँकरभिट्टाका मिलन राईले ४५ औँ मिनेटमा थप एक गोल गर्दै टिमलाई ४–१ को सहज जीततर्फ डोर्‍याएकाथिए । खेलको म्यान अफ द म्याच काँकरभिट्टाका गोलरक्षक देवान भुजेल घोषित भएसँगै नगद १ हजार र ट्रफी हात पारे ।
त्यसैगरी, आइतबारै सम्पन्न दोश्रो खेलको निर्णय भने टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा नगर टोला युथ संघ निरपानीलाई ३ का विरुद्ध ४ गोल गर्दै यलम्बर एफसी विजयी भयो । निर्धारित समयमा नगर टोला युथ संघ निरपानी र यलम्बर एफसीबाट २–२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । नवौँ मिनेटमा निरपानीका गुलिट तेलेङ्गाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, अग्रता लिएको ३ मिनेट बित्न नपाउँदै यलम्बर एफसीका सञ्जिव गिरीले गोल गर्दै टिमलाई बराबरीमा पुर्‍याए । एनसन राईले २१ औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा यलम्बरले २–१ आफ्नो दर्विलो उपस्थिति जनाएको थियो ।
निक्कै प्रतिष्पर्धात्मक भएको खेलको ३५ औँ मिनेटमा यलम्बर एफसीका खेलाडीले डिबक्स भित्र ह्याण्ड गरेपछि निरपानीले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमा निरपानीका गुलिट तेलेङ्गाले पेनाल्टीको सदुपयोग गर्दै टिमलाई बराबरी बनाए । निरपानीका खेलाडीको अधिकांश प्रहार विपक्षी गोलरक्षक याङ लिम्बूले विफल बनाइदिएका थिए । खेल २–२ को बराबरीमा सकिएपछि टाइब्रेकर भएको थियो । मागुरमाडीका सञ्जिव गिरी, प्रविन राई, परिवेश नेम्बाङ, एनसन राईले गोल गरे भने रोहन खड्काको प्रहार भने बाहिरिएको थियो । निरपानीका अनमोल तामाङ, साहिल राई, गुलिट तेलङ्गाको प्रहार गोलमा परिणत भएको थियो भने निगम तामाङ र पासाङ तामाङको प्रहार यलम्बरका गोलरक्षकले बचाएका थिए । खेलको म्यान अफ द म्याच याङ लिम्बू घोषित भए ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको बेस्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलरक्षक, हाइस्कोररले नगद २ हजारसहित ट्रफी मेडल पाउनेछन् ।
सोमबारको पहिलो खेल इटाभट्टा फुटबल क्लब र बाहुनडाँगी युथ क्लबबीच हुने र दोश्रो खेल लक्ष्मीधाप स्पोर्टस क्लब, बुट्टाबारी र होक्से युथ क्लबबीच हुने आयोजक समितिको खेल संयोजक भक्त गुरुङले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *