२०८१ कार्तिक ६, २०:४२
#ब्रेकिङ न्युज #समाज

शेर्पा, मगर, तामाङ र गुरुङ जातिले एकैसाथ ल्होछार मनाउने

मेचीनगर । बौद्ध धर्मावलम्बी मान्ने शेर्पा, मगर, तामाङ र गुरुङ जातिले एकैसाथ माघ २० गते  ल्होछार मनाउने भएका छन् ।
संयुक्त ल्होछार (डुग ल्हो) समितिको आयोजनामा मेचीनगर १३ मा बसोबास गर्ने चार जातिले एकै साथ ल्होछार मनाउने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
माघ २० गते चारआली उत्तर पुरानो गुम्बा भएको स्थलमा आयोजना गरिने यस ल्होछार विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रममा वडामा बसोबास गर्ने चारवटै जातिको ऐक्यवद्धता रहेको जनाइएको छ ।
कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईको प्रमुख आतिथ्यता तथा प्रदेश १ ‘क’ र ‘ख’ बाट निर्वाचित सांसद, नगरपालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्ष, सदस्यहरुको आतिथ्यता रहने जनाइएको छ ।
फरक फरक समयमा नभई एकै मितिमा सबै जातिले पर्व मनाउँदा भव्य पनि हुने र सबै जातिको ऐक्यवद्धता रहने भएकाले नौलो अभ्यासको शुरुवात गर्न लागिएको आयोजक समितिका अध्यक्ष फूर्वा तामाङले बताए ।
‘पटकपटक छुट्टी दिँदा राज्यलाई पनि धेरै भार पर्छ, त्यसैले सबै जाति मिलेर एउटै मितिमा किन पर्व मनाउन सकिँदैन ? भनेर पनि हामीले यसरी ल्होछार पर्व मनाउँन लागेका हौँ’, पत्रकार सम्मेलनममा बोल्दै उनले भने ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ भने जातजातिको झाँकी प्रस्तुत गरिने छिरिङ शेर्पाले जानकारी दिए । कार्यक्रमका लागि ५ लाख अनुमानित खर्च लाग्ने र उक्त खर्च आन्तरिक श्रोतबाट जुटाउने आयोजकले बताएको छ ।

पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका जिल्ला सदस्य मानबहादुर तामाङ, नेपाल मगर संघका जिल्ला सदस्य कुमार राना मगर, गुरुङ जातिका प्रतिनिधि तिलबहदुर गुरुङ, शेर्पा जातिका प्रतिनिधि छिरिङ शेर्पालगायतको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *