२०८१ कार्तिक ६, २०:३६

मित्र देश भारतबाट आहार खोज्न आएका हात्तीले १२ जनाको ज्यान लियो, अन्य घाइते

झापा : जिल्लामा डेढ वर्षको अवधिमा हात्ती आक्रमणबाट १२ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्।

घरमा सुतिरहेको अवस्थामा, बिहानको हिँडाइका क्रममा र जङ्गलमा घाँस दाउरा काट्ने क्रममा हात्ती आक्रमणबाट उनीहरुको ज्यान गएको हो।

सोही अवधिमा छ हात्ती मरेको तथ्याङ्क वन कार्यालयमा रहेको छ। गत वर्ष तीन र चालु आर्थिक वर्षमा तीन गरी छ हात्ती मरेका हुन्।

डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार २०६८ देखि २०८० पुस २० सम्ममा झापामा ५८ जनाको मृत्यु भइसकेको छ। त्यसमा सात गैरनेपाली पनि छन्।

जिल्लामा चार दशकदेखि मानव र हात्तीबीचको द्वन्द्व निरन्तर छ। चार दशकदेखि गुज्रिरहेको जङ्गली हात्ती र मानवबीच द्वन्द्वको कहिल्यै नसिद्धिने यो सिलसिलाबाट अहिले पनि झापा, मोरङ र सुनसरी आक्रान्त छन्। यो अवधिमा कति मानिसको ज्यान गयो भन्ने पूर्ण तथ्याङ्क उपलब्ध छैन।

मेचीपारी भारतमा महानन्द वन्यजन्तु निकुञ्ज छ। पश्चिम बङ्गालको वन्यजन्तु संरक्षण गरिने उक्त जङ्गलमा आसामदेखि आउने हात्तीले बासस्थान बनाउने गरेका छन्। त्यहाँ दिनभर आराम गर्ने हात्तीको बथान साँझ परेपछि आहारको खोजीमा सीमा तरेर बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने गरेका छन्।

एक दशकयता नेपालकै जङ्गलमा बस्दै आएका रैथाने हात्तीले मानिसको ज्यान लिने गरेको बुद्धशान्ति गाउँपालिका ३ का सीताराम वाँस्तोलाले बताए। एक्लै र हुलमा हिँड्ने रैथाने हात्ती मानव बस्तीको भित्री भागसम्म पुग्ने गरेका छन्।

सरकारले वन्यजन्तुबाट मानवीय तथा भौतिक क्षति भएमा राहत तथा क्षतिपूर्ति रकम दिने कानुनी व्यवस्था गरेको छ।

सख्त घाइतेको उपचार सम्पूर्ण व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्चबापत २० हजारसम्म दिने कानुनी व्यवस्था छ।

घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा १० हजारसम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन वन कार्यालयका अधिकृत पराजुलीले बताए।

Leave a comment

Your email address will not be published. Required fields are marked *