२०८१ मंसिर १३, १४:३७

कविता “बा”लाई लागेको थ्यो

“बा”लाई लागेकोथ्यो

छोरो जन्मेपछि

यो दुनियाँ जितिन्छ,संसार जितिन्छ

“बा”लाई लागेकोथ्यो

छोरी जन्मेपछि जगत

उजेलिन्छ , जीवन उजेलिन्छ।

 

मैले एक छाक काटेर

यीनलाई शिक्षा दिन सकें भने

एक दिन कसो न नाघौंला म यो जावो

दु:खको थुम्को

दिन दिनै

छोरो हुर्कियो छोरी हुर्की

मक्किदै आएको त घरको धुरी न थ्यो

निधारको पसिना र पाखुराको बल नाथु न थ्यो

आसाहरु रित्तिएका थिएनन्

आँखाका नानी जस्तै नानीहरुका

मिहेनतका तक्मा रित्तिएका थिएनन्

रित्तिएको त नाथे अलिकति वैश

अलिकति रहर न थ्यो।

 

“बा”लाई लागेको थ्यो

नानीहरुलाई

अक्षर छिचोल्न, बाटो काट्न,

आफ्नो घर फर्कने बाटो पहिल्याउन

मात्रै गार्हो हो

विद्यालयका परिक्षाहरु छिमलेर

क्यामपसका बर्षहरु टपेपछि

महाविद्यालयका वोर्ड नाघेपछि

सप्पै सपनाहरु एकै पटक नाघिएला

सप्पै रहरहरु फर्किएलान

अहिलेलाई गुमेको

त्यही एउटा सपना रोप्ने बारीको पुर्जा न हो।

 

आफुले जानेको सप्पै

शिप, कौशल र सामर्थ्य खर्चेर

सकिए पछि

बालाई थाहा भयो

भित्ताभरि

झुण्डिएका उज्याला तक्माहरुले

घडीको समय मिलाउन सक्ता रहेनछन्

साईकलको पाङ्रो खोल्न जान्दा रहेनछन्

बारीका सप्पै सिजनहरु बिर्सिएर

जीवन खोज्न जब नानीहरु निस्किए

जीवन खोज्नै निस्किएका लाईनका

पुछारमा

त्यसबेला बालाई लाग्यो

जीवनभर धोका दिईएछ रहरलाई

जिस्काईएछ सपनाहरुलाई।

 

बत्ति निभेर अध्यारो छाएपछि

“बा”लाई लाग्यो

छोपेर हिडिएछ आफ्नै आखाहरुको

सुरम्य उज्यालो

बत्ती निभ्नु अघि

तेल बचाउने कुरा

“बा”ले कहिल्यै सोचेनन् सायद

“बा”लाई लागेको थ्यो

छोरो जन्मेपछि संसार जितिन्छ

छोरी जन्मेपछि

सन्सार उजेलिन्छ

यीनलाई गाँस काटेर

रहर र सपना बन्धकी राखेर

दिएको शिक्षाको उज्यालोले

सप्पै उज्यालो फर्किन्छ

मैलेझैं यीनले जीवन खोज्न

कतै, कहिल्यै, कसैकहाँ

बन्धकी बस्नु पर्ने छैन।

 

लेखक-” विवश” बलिभद्र काेइराला,चुलाचुली ईलाम

Leave a comment

Your email address will not be published. Required fields are marked *