२०८१ माघ ५, ०९:२८

कुलमान घिसिङ : विश्व बैंक र एडीबीबाट सहयोग नभए माथिल्लो अरुण जनताको लगानीमा बनाउँछौं

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंक र एडीबीबाट वित्तीय व्यवस्थापन नभए नेपाली जनताको लगानीमा बनाउने तयारी रहेको बताएका छन् ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजना विश्व बैंकको नेतृत्वमा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट असारभित्रमा वित्तीय व्यवस्थापन गर्नेगरी प्रक्रिया अगाडि बढिरहेको बताए । उनले असारभित्र पनि वित्तीय व्यवस्थापन हुन नसके स्वदेशी बैंक तथा वित्तीय संस्था र नेपाली जनताको लगानीमा माथिल्लो तामाकोशीको मोडलमा निर्माण गर्ने योजना रहेको उल्लेख गरेका थिए ।

घिसिङले प्राधिकरणले माथिल्लो अरुण जलविद्युत आयोजनालाई नेपाल सरकार, प्रदेश सरकार, आयोजना प्रभावित जिल्लाका स्थानीय तह, आयोजना प्रभावित जिल्लावासी, सर्वसाधारणको शेयर लगानी, अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलितपूर्ण ऋण र स्वदेशी बैंक तथा वित्तीय संस्थाको ऋण लगानी रहने गरी मिश्रित लगानी (ब्लेन्डेड फाइनान्सिङ) को नमूना परियोजनाको रूपमा अगाडि बढाउन खोजिरहेको बताए ।

‘अपर अरुण नेपालको एउटा गेमचेन्जर आयोजना हो । १०६३ मेगावाटको आयोजना हो । तत्काल बनाउनुपर्ने परियोजना हो । विगत लामो समय परियोजनाको तयारीमा लागायौं । ८ वर्ष लगाएर सम्पूर्ण तयारी पूरा भएको छ । अहिले टनेलसहितको २ किलोमिटरको पहुँज मार्ग छ । फुलफेजमा काम सुरु भएको छ । परियोजनालाई आवश्यक जग्गा अधिकरणदेखि सबै सकिए काम सुरु भएको छ । हेलिक्टर प्रयोग गरेर समानहरू लगेर काम गरिरहेको छ । आयोजनाको फाइनान्सिङको लागि विश्व बैंक, एडीबी लगायत अरु डेभलोपमेन्ट पार्टनरहरूले फाइनान्सिङ क्लोज गर्ने क्रममा छ । केही प्राविधिक विषयमा फाइनल गर्नुपर्ने छ,’ घिसिङले भने, ‘फाइनान्सिङको लागि सहमति रोकिएको छ । जुन (असार)मा हुने भनिएको थियो, अहिले रोकिएको छ । अपर अरुण बनाउनको लागि विश्व बैंक, एडीबी लगायत अरु डेभलोपमेन्ट पार्टनरहरूले फाइनान्सिङ सम्भव भएन भने यो आयोजना नेपाली जनता र नेपालका वित्तीय संस्थाहरूबाट नै बन्छ । यो माथिल्लो तामाकोसीको मोडलमा बन्छ । देशविदेशमा भएका नेपाली जनताको लगानी माथिल्लो अरुणमा लगानी गर्न अगाडि बढाउँछौं । आयोजना निर्माणको लागि ५३ अर्बको सम्झौता भइसकेको छ । दुधकोशी पनि ६७० मेगावट आयोजनाको तयारी सम्पूर्ण रुपमा पूरा भएको छ ।’

Leave a comment

Your email address will not be published. Required fields are marked *