२०८१ कार्तिक ६, १८:१८

ठेकेदारको लापार्वाहीले मेचीनगरमा बनि नसक्दै भत्कियो वाल

मेचीनगर-सङ्घीय सरकारको १ करोड १६ लाख बजेटमा निर्माण भएको झापाको मेचीनगर-१३ को छविलाल मार्गमा नवनिर्मित प्लम वाल भत्किएको छ । इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा नवनिर्मित १० फुट अग्लो करिब ६० मिटर भत्किएको छ भने करिब २० मिटर चर्किएको छ ।

माथि ३०, बेस ६० सेन्टिमिटर र २ मिटर अग्लो वाल जमिनमुनिको बेसमै कमजोरी भएका कारण क्षति भएको हो । लोकल इन्फ्रासक्टटचर डेभलपमेन्ट प्रोजेक्ट इटहरी र झापाको मेचीनगर-१० को ठेकेदार एसयुएन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो । योजना सम्पन्न गर्न प्रोजेक्टका इन्जिनियर परलाद दाहाल र ठेकेदार कम्पनीका नयन बरालले निर्माण गर्ने जिम्मा लिएका थिए ।

सम्झौतापछि ठेक्का पाएको कम्पनीले ठेकेदार दिलीप राजवंशीलाई योजनाको काम सम्पन्न पेटी ठेक्का दिएका थिए । दिलीप राजवंशीले पनि फेरि अर्का ठेकेदार अतुल चौधरीलाई पेटी ठेक्का दिएका थिए । सङ्घीय सरकारबाट ठेक्का पाएका र ठेकेदारबाट पेटी ठेक्का पाएका ठेकेदारले मनोमानी रुपमा निर्माण गर्दा उक्त क्षति भएको स्थानीयको आरोप छ । उक्त बाटोको एकातर्फ सिँचाइको पैनीलाई पनि बाटोमै राखेको र वैकल्पिक पैनी नहुँदा समस्या हुँदै आएको स्थानीय कृषकको गुनासो छ ।

सङ्घीय सरकारको १ करोड १६ लाखको टेन्डर भए पनि ठेकेदार कम्पनीले कम मूल्य वा ९६ लाख २४ हजार ४सय ७९ रुपैयाँ ६ पैसामा योजनाको काम सम्पन्न गर्ने भनी ठेक्का सम्झौता गरेका थिए । ३३ फुटे चौडाइ र ६५० मिटर लम्बाई रहेको बाटोको दुबैतर्फ प्लम बालसहित ग्रावलका लागि ठेक्का परेको हो । बाटोको एकातर्फको प्लम वाल निर्माणपछि अर्को पट्टीको वाल निर्माण सुरु गरेको २ दिनपछि निर्मित वालको ७५ मिटर भाग भत्किएको छ । असार २५ गते योजनाको काम सम्पन्न मिति रहेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *