२०८१ कार्तिक ६, १६:२७
#ब्रेकिङ न्युज

आजबाट बीएण्डसी हस्पिटल बिर्तामोडमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु

झापा, २० जेठ । झापाको बिर्तामोडस्थित बिएन्डसी टिचिङ हस्पिटलले मिर्गौला पीडित बिरामीलाई लक्षित गरी आजदेखि निःशुल्क हेमो डायलिसिस सेवा सुरु गरेको छ । विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमो डायलिसिस सेवा सञ्चालनमा ल्याएको हस्पिटलले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

नेपाल सरकारले तोकेबमोजिम विपन्न मिर्गौला बिरामीहरूलाई निःशुल्क हेमो डायलिसिस सेवा प्रदान गरिने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए । हाल हस्पिटलको पाँच वटा डायलिसिस मेसिनबाट सेवा सुरु गरेको र छिट्टै १५ वटा मेशिन थप गरी २० वटाबाट विपन्न मिर्गौला बिरामीहरूलाई सेवा प्रदान गरिने जनसम्पर्क अधिकारी गिरीले बताए । डायलिसिस सेवासँगै हस्पिटलमा फिस्टुला बनाउने तथा सघन उपचारको पनि व्यवस्था रहेकोले मिर्गौला बिरामीको उपचारमा सहयोग पुग्ने उनको भनाई छ ।

मिर्गौलामा समस्या देखिएका बिरामीहरूले हेमोडायलिसिस सेवा लिन आउनु अघि सम्बन्धित स्थानीय तहबाट सिफारिस पत्र ल्याउनु पर्ने हुन्छ । सोही सिफारिस पत्रको आधारमा बिरामीको अन्य आवश्यक कागजातहरू संलग्न गरेर हस्पिटलको सामाजिक सुरक्षा इकाइमा पेस गरेपछि निःशुल्क हेमो डायलिसिस सेवा प्राप्त गर्न सकिने गिरीको भनाइ छ ।

कार्यक्रम अन्तर्गत बिरामीको उपचार प्रक्रिया बारे हस्पिटलमा कार्यरत डाक्टर गोपाल मिश्र, डाक्टर मुक्ति देवकोटा, डाक्टर वासुदेव बाँस्कोटा, डाक्टर राजु श्रेष्ठ, डाक्टर अमितकुमार शाह जानकारी गराएका थिए । हस्पिटलले यसअघि विपन्न नागरिक उपचार कोष अन्तर्गत हेड तथा स्पाइनल इन्जुरी सेवा, क्यान्सर रोगीका लागि एक लाख सम्मको निःशुल्क उपचार सेवा सुरु गरिसकेको बताइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *