२०८१ कार्तिक ६, १६:१०
#ब्रेकिङ न्युज #समाज

सहिद विश्वनाथ मार्ग ड्रेनसहितको कालोपत्रे गर्न मेचीनगर नगरपालिका र कनकाई विल्डर्सबीच सम्झौता

मेचीनगर । विश्व बैंकको लगानीमा बन्ने सूर्योदय (सहिद विश्वनाथ) मार्ग कालोपत्रे गर्न मेचीनगर नगरपालिका र कन्काई इन्टरनेशनल विल्डर्सबीच सम्झौता भएको छ ।
नगरपालिकाकाको सभाहलमा आज पत्रकार सम्मेलन गर्दै मेचीनगर र निर्माण कम्पनीबीच सम्झौता भएको हो । कनकाई बिल्डर्सका तर्फबाट व्यवस्था लिलाराज सिलवाल तथा मेचीनगर नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले हस्ताक्षर गरेका थिए ।

सूर्योदय (सहिद विश्वनाथ) मार्ग कन्काई इन्टरनेशनल विल्डर्स कन्काई झापाले ३० करोड ८७ लाख ५७ हजार ९ सय १८ रुपैयाँ २० पैँसाको लागतमा ठेक्का पारेर निर्माण गर्न सम्झौता गरेको छ । यस सडकले काँकरभिट्टाको बर्मेली टोलदेखि बाहुण्डाँगीसम्मको ८.३८० किलोमिटर सडक समेटिने छ ।
भौतिक पूर्वाधार विकासमा आक्रमक रूपमा अगाडि बढिरहेको मेचीनगरले सुर्योदय मार्ग (हालको सहिद विश्वनाथ मार्ग) काँकरभिट्टासँगै सहिद मार्ग धुलाबारी (हालको सहिद विरेन मार्ग) समेत ड्रेनसहित सुविधा सम्पन्न कालोपत्र बनाउने भएको हो ।
सम्झौता बमोजिम अब निर्माण कम्पनीले सहिद विरेन र विश्वनाथ मार्ग आगामी २०२५ जुलाई १५ तारिखसम्ममा सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ ।
त्यस्तै सहिद (सहिद विरेन ) मार्ग एनएनटी डेभ्लोपर पटना भारतले २७ करोड २१ लाखमा ठेक्का पारेको छ । धुलाबारी बजारसिरान हुँदै थोप्लेविराम सडकखण्ड ५.४७० किलोमिटर कालोपत्रे हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको विकाससंगै थुप्रै कोणबाट महत्वको रूपमा लिइएको सहिद विरेन र सहिद विश्वनाथ मार्ग निर्माण सम्पन्न गरेर सञ्चालन गर्न आफुहरू सक्रिय रहेको नगरप्रमुख गोपालचन्द्र बुढाथोकी बताउँछन् । उनले यी दुई सडकले पूणर्ता पाउँदा नगरबासीलाई आवतजावतमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारीकरण गर्न छिमेकी पालिकाहरू उत्तरमा इलामको रोङ तथा दक्षिणमा झापाकै भद्रपुरसँग सहज हुने बताउँदै उनले नगरको गौरवको रूपमा रहेको यी सडक सहजरूपमा निर्माण सम्पन्न गर्न नगरपालिकासंगै स्थानीय नागरिकको साथ आवश्यक रहेको बताए ।
सम्झौता हस्ताक्षर पश्चात् कार्यक्रममा बोल्दै मेचीनगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले नगरपालिकालाई विकासीत गर्न आफुहरू निरन्तर लागि रहेको बताइन् । नगरको समग्र विकासमा जनप्रतिनिधि र कर्मचारी एक भएर अगाडि बढिरहेको बताइन् ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सडक बिस्तार, कालोपत्रे लगायत समग्र नगरको विकासमा जनप्रतिनिधिसंगै आफुहरू पनि गम्भीर भएर लागिपरेको बताए ।
मेचीनगरका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको निर्माण सम्झौता कार्यक्रममा निर्माण कम्पनिका प्रतिनिधि, मेचीनगर संचार प्रतिष्ठानका अध्यक्ष शिशिर चम्लागाई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, अग्रज पत्रकार मोहन काजीलगायका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *