झापामा सहकारी चोरी गर्ने गिरोह नियन्त्रणमा
बिर्तामोड, बैशाख ७ । पछिल्लो समय झापाका सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहका सदस्यलाई प्रहरीले धमाधम पक्राउ गरेको छ ।
एक दर्जनभन्दा बढी सहकारी संस्थाको कार्यालयमा प्रवेश गरेर नगद तथा धनमाल लुट्ने समूहलाई आज प्रहरीले इटहरीबाट पक्राउ गरेको हो ।
सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको सूचना सत्य भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । उनका अनुसार आज छ जना सबैलाई नियन्त्रणमा लिएको छ।
झापासहित पूर्वका सहकारीहरुमा शृङ्खलाबद्ध चोरी गर्ने समूहलाई झापा प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
इटहरीबाट पक्राउ उनीहरुलाई झापा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । झापा र सुनसरी प्रहरीले संयुक्त रुपमा उनीहरुलाई पक्राउ गरेको बुझिएको छ । उनीहरुले चोरी गरेको विवरण र पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन ।
सो समूहले चैत ५ गते राति गौरादह ९ बैगुनधुरास्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रबाट करिब १२ लाख नगद र सरसामान चोरी गरेको थियो ।
यसरी जिल्लाभरका दर्जनभन्दा बढी सहकारीमा भएको चोरीको घटनाहरुमा उनीहरुको संलग्नता देखिएको छ ।