२०८१ कार्तिक ६, १८:२०
#ब्रेकिङ न्युज

पूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

झापा —ढपूर्वी नाका काँकडभिट्टाबाट पेट्रोलियम पदार्थकोआयात घटेको छ । आर्थिक वर्ष २०८०/०८१ को आठ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब २८ करोड ८४ लाख १० हजार रुपैयाँको पेट्रोलियम पदार्थको आयात कम भएको मेची भन्सार कार्यालयले जनाएको छ ।

काँकडभिट्टाबाट आयात हुने पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा स्थानीय पेट्रोल पम्पमार्फत बिक्री वितरण हुँदै आएको छ ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा १३ अर्ब ३३ करोड १६ लाख ३३ हजार रुपैयाँको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ । अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो ।

पूर्वी नाका हुँदै आयात हुने पेट्रोलियम पदार्थमध्ये डिजेलको आयातमा भारी गिरावट आएको छ । प्रमुख भन्सार अधिकृत रेग्मीका अनुसार आव २०८०/०८१ को आठ महिनामा चार अर्ब ८७ करोड ६९ लाख ९६ हजार रुपैयाँको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ । आव २०७९/०८० को सोही अवधिमा पाँच अर्ब ७३ करोड १८ लाख १७ हजार रुपैयाँको डिजेल आयात भएको थियो ।

गत आवको फागुन मसान्तसम्मको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८५ करोड ४८ लाख २१ हजार रुपैयाँ मूल्य बराबरको डिजेलको आयात घटेको छ । पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ ।यो समाचार कान्तिपुर बाट साभार गरिएको हो।

Leave a comment

Your email address will not be published. Required fields are marked *