२०८१ कार्तिक ६, १६:१२
#खेलकुद #ब्रेकिङ न्युज

दोश्रो जेसीज फुटबल प्रतियोगिताः बाहुनडाँगी सेमिफाइनलमा

बाहुनडाँगी । दोस्रो जेसीज नकआउट प्रतियोगितामा आयोजक बाहुनडाँगी युवा क्लबले विजयी शुरुवात गरेको छ । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा कचनकवल फुटबल क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै बाहुनडाँगीले सेमिफाइनलको यात्रा तय गरेको हो ।
बाहुनडाँगीका लागि १७ औँ मिनेटमा १७ नम्बर जर्सीका रिकी श्रेष्ठले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, पहिलो हाफकै २९ औँ मिनेटमा जर्सी नम्बर ९ का श्याम मुर्मुले गोल गर्दै बाहुनडाँगीको अग्रतालाई दोब्बर बनाएका थिए ।
३५–३५ मिनेटको खेलमा कचनकवल फुटबल क्लबले दोश्रो हाफमा सम्हालेर खेल्दै केही उत्कृष्ट मुभ बनाए पनि बाहुनडाँगीको रक्षापक्तिलाई तोड्न नसक्दा खेल २–० ले पराजित बन्न पुग्यो । खेलको म्यान अफ द म्याच बाहुनडाँगीका रिकी श्रेष्ठ घोषित भएसँगै नगद १ हजार ५ सय रुपैयाँ, ट्रफी प्राप्त गरे ।
बाहुनडाँगी जेसीजको आयोजनामा चैत १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकपको जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । भोलिको खेल शनिश्चरे फुटबल क्लब र रोलिङ क्लब धुलाबारीबीच हुने आयोजकले जनाएको छ ।
त्यसैगरी, महिलाहरुको मैत्रीपूर्ण फुटबल खेलमा मेचीनगर–४ विजयी भएको छ । मेचीनगर–३ लाई ० का विरुद्ध १ गोल गर्दै मेचीनगर–४ विजयी भएको हो । मेचीनगर–४ का लागि रोजिना न्यौपानेले गोल गरेकी थिइन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँको सभापतित्व रहेको थियो । नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष, पूर्व कोषाध्यक्ष तथा झापा गोल्डकपका अध्यक्ष जेसीआई सिनेटर बिनोद बस्नेतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कार्गिल सहिद परिवार सदस्यका भाई नेत्रराज थापा क्षेत्री, संस्थापक अध्यक्ष नविन बराल, निरुपित कार्यकारिणी उपाध्यक्ष भीमबहादुर कुँवर (राजु), मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीलगायतले बोलेका थिए । कार्यक्रममा मेचीनगर–१ का वडा अध्यक्ष रामकुमार राई, बाहुनडाँगी युवा क्लबका अध्यक्ष तथा पूर्व अध्यक्ष जीवन मोते, साना किसान सहकारी संस्थाका मुख्य प्रबन्धक पोषककुमार मोते, मातृशाखाका अध्यक्ष मञ्जिल रसाइली, प्रलाद थापा, रञ्जित खड्काको आतिथ्यता रहेको थियो । कार्यक्रममा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतलाई सम्मान गरिएको थियो ।
कार्यक्रम संयोजक दिवस पौडेलले स्वागत गरेको कार्यक्रममा आस्थापाठ अतिथि सत्कार संयोजक प्रतिमा रिजालले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव सुस्मिता भण्डारीले गरेकी थिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *