२०८१ कार्तिक ६, १६:१७
#खेलकुद #ब्रेकिङ न्युज

पुरुष फुटबलतर्फ मेचीनगर– २ र ११ सेमिफाइनलमा, महिलातर्फ मेचीनगर–४ फाइनलमा

मेचीनगर । मेचीनगर २ र ११ ले प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष फुटबलको अन्तिम चारमा प्रवेश गरेका छन् । काँकरभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगितामा मेचीनगर ११ ले वडा नम्बर १३ लाई र मेचीनगर–२ ले वडा नम्बर १० लाई हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो ।
शनिबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा मेचीनगर १३ लाई मेचीनगर ११ ले १–० को झिनो गोल अन्तरले पराजित गरेको छ । निक्कै प्रतिष्पर्धात्मक भएको खेलको ३७ औँ मिनेटमा मेचीनगर–११ का तर्फबाट सजल धिमालले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच सजल धिमाल घोषित हुँदै नगद २ हजारसहित प्रमाण पत्र प्राप्त गरे ।
त्यसैगरी, शनिबारै सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा मेचीनगर २ विजयी बन्यो । वडा नम्बर २ ले १० लाई २–१ गोल अन्तरले पराजित गरेको हो । मेचीनगर–२ का तर्फबाट १७ औँ मिनेटमा पुजन राईले गोल गर्दै अग्रता दिलाए । तर, अग्रता लिएको २ मिनेट नबित्दै मेचीनगर १० का सन्दिप खवासले बराबरी गोल फर्काए । पहिलो हाफमा दुवै टिमबाट गोलका प्रयास भए पनि सफल हुन सकेन र पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । खेलको ३७ औँ मिनेटमा मेचीनगर–२ का तर्फबाट प्रविन लिम्बूले टिमका लागि दोश्रो गोल गरे । खेलको म्यान अफ दी म्याच मेचीनगर–२ का पुजन राई घोषित हुँदै नगद २ हजारसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।
भोलिको पहिलो सेमिफाइनल खेल वडा नम्बर ६ र १५ बीच र दोश्रो सेमिफाइनल खेल वडा नम्बर ११ र २ बीच हुने आयोजकले जनाएको छ । फुटबलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र काँकरभिट्टा भेट्रान फुटबल क्लबको प्राविधिक सहयोग रहेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुनेछ ।
त्यसैगरी, मेचीनगर–४ प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत महिला फुटबलको फाइनल प्रवेश गरेका छन् । मेचीनगर–६ भने उपाधि होडबाटै बाहिरिएको छ ।
मेचीनगर–६ लाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै मेचीनगर–४ उपाधि नजिक पुगेको हो । ३६ औँ मिनेट मेचीनगर –४ का तर्फबाट रोजिना न्यौपानेले निर्णायक गोल गरिन् । खेलको वुमन अफ दी म्याच रोजिना न्यौपाने घोषित भएसँगै नगद २ हजारसहित प्रमाण पत्र प्राप्त गरिन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *