२०८१ कार्तिक ६, १६:१३
#ब्रेकिङ न्युज #समाज

धुलाबारी खानेपानी उपभोक्ता समितिको २३ औँ वार्षिक साधारणसभा सम्पन्न

धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको २३ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । मेचीनगर–९ स्थित पासाङ ल्हामू स्मृति जेसीज प्रतिष्ठान टाउनहलमा सम्पन्न वार्षिकोत्सवमा झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि शर्माले शुद्ध खानेपानी व्यवस्थापनका लागि दिर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए । उनले जलवायु परिवर्तनले वातावरण अनुकूलित नहुँदा शुद्ध पानीमा समस्या भएको उल्लेख गरे । उनले बढ्दो जनघनत्व र पानीको मुहान घट्दोक्रम भएकाले वातावरणलाई जोगाउन र पानीको दुरुपयोगलाई रोक्नसमेत आग्रह गरेका थिए ।
संस्थाका अध्यक्ष धनकाजी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष खत्रीले बार्षिक प्रतिवेदन प्रस्तुत गरे । प्रतिवेदनमा २०८० माघसम्ममा कुल धारा संख्या ६ हजार ७ पुगेको उल्लेख गरिएको छ । उपभोक्ताको आवश्यक्तालाई पूर्ति गर्न खानेपानी विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको पनि प्रतिवेदनमा उल्लेख छ । धुलाबारी खानेपानी आयोजना मेचीनगरका वडा नं ९, १०, ११, १४ र १५ का केही भागहरुमा विस्तार गरिएको छ ।
संस्थाले सामुदायिक विद्यालय तथा मठ–मन्दिरहरुलाई मासिक महसुलमा न्यूनतम छुट तथा एकल महिला, सहिद परिवार तथा अपाङ्गता भएका व्यक्तिहरुका नाम धारा जडानमा अनुदान दिने गरेको जनाइएको छ । बुद्धशान्ति ६ मा रहेको जरुवा मूलको पानीलाई प्रमुख श्रोतको रुपमा उपयोग गर्ने गरी वि.सं. २०५२ सालमा स्थापना भएको धुलाबारी खानेपानी आयोजना एसियाली विकास बैंक र जाइका नेपालको पहिलो र दोश्रो चरणमा गरी जम्मा रु ४५ करोड बराबरको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको हो ।
कार्यक्रममा बिशिष्ठ अतिथि प्रदेश सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सहलगानी विभागका कोशी प्रमुख सुरतलाल चौधरी, धुलाबारी खानेपानी संस्थाका संस्थापक अध्यक्ष राम कट्टेल, झापा जिल्ला सहकारी अभियान्ता दुर्गादेवी खतिवडा, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा धुलाबारी खानेपानी उपभोक्ता समितिको पूर्व अध्यक्ष मणिकुमार उप्रेती, इन्द्रकुमार बुढाथोकी, नेकपा एमालेका जिल्ला कमिटि सदस्य कृष्ण कनाल, रेनुका डाँगी, काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष राजकुमार पराजुली, मेचीनगर–१० का वडा अध्यक्ष नारायण खनाल, धुलाबारी क्याम्पस प्रमुख पुष्पराज पौडेल, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईलगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका उपाध्यक्ष हिमालय आङ्देम्बेले स्वागत गरेको कार्यक्रमको संचालन सचिव उमेश सुवेदीले गरेका थिए ।

 

आजदेखि ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया’ हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *