२०८१ कार्तिक ६, २०:३५
#ब्रेकिङ न्युज

इलाम २ मा चुनावी चहलपहल बढ्यो, रविकाे पार्टी उम्मेदवार खोजीमा

इलाम ।  आउँदो वैशाख १५ गत प्रतिनिधि सभा र प्रदेश सभाको उपनिर्वाचन हुने भएसँगै इलाम २ मा चुनावी चहलपहल बढेको छ । नयाँ राजनीतिक समीकरणले उपनिर्वाचन थप गर्माएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले इलाम २ लाई प्रतिष्ठाको विषय बनाएका छन् । सोही अनुरुप आकाङ्क्षीहरूको दौडधुप बढेको छ ।एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने गरी तयारी थालेको छ ।

जिल्ला सचिवालयको बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरिसकेको छ । कार्यदलले आउँदो चैत ३ गतेसम्ममा उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्ने छ । उम्मेदवार हुन इच्छुकले यही फागुन २७ सम्ममा आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्नुपर्नेछ ।

एमाले केन्द्रीय समितिले जिल्लामा पठाएको अन्तर पार्टी निर्देशन (अपानि)मा उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्ने उल्लेख छ । उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्डसमेत एमालेले निर्धारण गरेको छ ।एमालेबाट बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, डा.देवी क्षेत्री दुलाल, दिवंगत नेता सुवासचन्द्र नेम्बाङका छोरा सुहाङले आफूलाई बलियो उम्मेदवारका रूपमा उभ्याएका छन् ।

नेपाली कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का २०७९ मा व्यहोरेको हारलाई जितमा परिणत गर्ने अभियानमा छन् । जिल्लामा कांग्रेसको संगठनभित्र बलियो पकड बनाएका भेषराज आचार्य यस पटक जसरी पनि टिकट लिने र कांग्रेसलाई विजयी गराउने अभियानमा रहेको दाबी गरिरहेका छन् । पूर्वराज्यमन्त्री केशव थापा र पूर्वसांसद नगेन्द्र कुमाल पनि कांग्रेसबाट टिकटको दौडमा छन् ।वैकल्पिक दलका नेताहरु पनि चुनावी अभियानमा जुटिसकेका छन् ।

पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेदवार बन्ने संभावना देखिएको छ । माओवादी केन्द्र परित्याग गरेका पत्रकार मिलन लिम्बु पनि इलाम २ को उम्मेदवार बन्ने दौडमा छन् । संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिक रूपमा उम्मेदवार खोजिरहेको छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा), मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय उन्मुक्ति पार्टी (नाउपा) लगायतकादलहरुले पनिआफ्नो उम्मेदवार उठाउने तयारीमा छन् ।

संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख समेत रहेका नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको गतभदौ २६ गते निधन भएपछि रिक्त रहेको इलाम २ मा उपनिर्वाच हुनलागेको हो । गतवर्षको प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का विरुद्ध एक सय १४ मतको झिनो अन्तरमा नेम्बाङ निर्वाचित भएका थिए । इलाम २ को मात्र मतदाता एक लाख १५ हजार चार सय ६७ रहेका छन् । Ratopati

Leave a comment

Your email address will not be published. Required fields are marked *