२०८१ कार्तिक ६, १६:२५
#खेलकुद #ब्रेकिङ न्युज #समाज

स्व. पवनकुमार खड्का स्मृति प्रथम नकआउट फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा सम्पन्न प्रथम नकआउट फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । नकलबन्दा समाज विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा समितिले सञ्चालन खर्च कटाएर १ लाख ७५ हजार १ सय बचत गरेको छ ।


समितिलाई प्रतियोगिता सम्पन्न गर्न दाताहरुबाट ६ लाख १२ हजार ८ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । प्रतियोगिता समापन गर्न समितिले ४ लाख ३७ हजार ७ सय रुपैयाँ खर्च भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । समितिले पुरस्कारमा १ लाख ७ हजार, छपाईमा ९५ हजार, रेफ्रीलाई ६५ हजार, पण्डालतर्फ १५ हजार खर्च भएको जनाइएको छ । कार्यक्रम सम्पन्न गर्न साउण्ड सिस्टम, ग्राउण्ड व्यवस्थापन, डेकोरेसन, प्रचारप्रसारमा समेत खर्च गरिएको जनाएको छ ।


समितिले विभिन्न व्यक्तित्वलाई ६४ हजार भुक्तानी दिनु पर्ने रहेको छ । समितिको १ लाख १० हजार बंैक मौज्दात र विभिन्न संस्था तथा व्यक्तित्वबाट १ लाख २९ हजार १ सय पाउन बाँकी रहेको आर्थिक समिति संयोजक पर्शुराम पराजुलीले बताए । खेल अवधिभर खेल मैदान उपलब्ध गराएको मेची आधारभूत विद्यालयलाई समितिले फुटबल र जर्सी हस्तान्तरण गरेको छ ।
प्रतियोगिताको उपाधिका लागि काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र होक्से युथ क्लब मैदानमा उत्रिएका थिए । उपाधि जितेसँगै होक्सेले नगद ५० हजार नगद, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको थियो भने उपविजेता काँकरभिट्टाले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।
खेल संयोजक भक्त गुरुङको सभापतित्व रहेको कार्यक्रममा आर्थिक समिति संयोजक पर्शुराम पराजुलीले आय–व्यय प्रस्तुत गरेका थिए । आय–व्यय सार्वजनिक कार्यक्रममा नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, पूर्व अध्यक्ष तथा नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष होमराज गुरुङ, मेची आधारभूत विद्यालयका प्रधानाध्यापक जीवनकुमार बानियाँ, स्व. पवनकुमार खड्काका भाइ अमृत खड्का, निखिल खड्का लगायतको आतिथ्यता रहेको थियो । पत्रकार सम्मेलनको सञ्चालन सदस्य सुरज तामाङले गरेका थिए ।


प्रतियोगिता समापन भएपछिको बचत रकमलाई खेलकुद क्षेत्रको विकासमा खर्च गरिने आयोजक समितिका खेल संयोजक भक्त गुरुङले बताए । उनले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्दै नकलबन्दालाई खेलकुदमय बनाउन समितिको योगदान रहने बताए । आगामी वर्षहरुमा पनि स्व. पवनकुमार खड्काको स्मृतिमा प्रतियोगिता आयोजनालाई निरन्तरता दिने संयोजक भक्त गुरुङले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *