महिलाको प्रजनन् क्षमतामा मोटोपनले कस्तो असर पार्छ ?
मोटोपनले महिलाको सौन्दर्य चिन्ता मात्र बढाउँदैन, प्रजनन् क्षमतामा समेत असर गर्छ । मोटोपन, पीसीओएस र मधुमहेबीच जटिल अन्तरसम्बन्ध छ । मोटोपनसँगै मधुमेह र पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस)को खतरा हुन्छ । यी दुवैको कारण प्रजनन् क्षमतामा असर पुग्छ ।
अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)ले हालै गरेको एक अध्ययनले देखाउँछ, हरेक चार जना महिलामध्ये एक जना पीओएसबाट पीडित छन् । यस्तै ३५ देखि ४९ वर्ष समूहका १० मध्ये एक महिलालाई मधुमेह छ । पीओएस भएका महिलालाई टाइप टु मधुमेहको उच्च जोखिम हुन्छ ।
अब पीओएसबारे सहज भाषामा बुझौं । के हो यो ? यसले कसरी असर गर्छ ?
पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पीसीओएस) एक किसिमको हार्मोनल विकार हो । खासगरी बच्चा जन्माउने उमेरका महिलामा यस्तो हार्मोनल विकार देखिन्छ । यसले इन्डोक्राइन ग्रन्थीलाई बाधा पुर्याउँछ । नतिजा, पुरुष हार्मोन भनेर चिनिने एन्ड्रोजन अत्यधिक उत्पादन हुन्छ र अण्डाशयमा सिस्टहरु बनाउन थाल्छ ।
पीसीओएसले प्रजनन् समस्या, अनियमित महिनावारी, तौल बढ्ने, शरीरमा अतिरिक्त रौं आउने, डन्डीफोर आउने हुन्छ ।
किन यस्तो हुन्छ त ? यसको मूल कारण भनेको खराब जीवनशैली हो । अहिले हामीले अपनाउने अनियमित दिनचर्या, खराब खानपान, तनावग्रस्त मानसिकताले यो समस्या ल्याउने गरेको पाइन्छ ।
मोटोपन, पीसीओएस र मधुमेहबीच के सम्बन्ध छ ?
मोटोपन भएका महिलामा हार्मोनल असन्तुलन भई मधुमेह र पीसीएओस विकसित हुने उच्च जोखिम रहन्छ । यसले इन्सुलिन प्रतिरोध र प्रतिपूरक हाइपर इन्सुलिन मिया ट्रिगर गर्न सक्छ । यी दुवै टाइप टु मधुमेहमा योगदान गर्ने कारकहरु हुन् ।
पीसीओएस भएका महिलाहरुमा अपर्याप्त शारीरिक गतिविधि, खराब आहार, तनाव जस्ता कुराले मोटोपन र हार्मोनल असन्तुलन बढाउन सक्छ । यसले मधुमेहको जोखिमलाई अझ बढाउँछ ।
महिलाको प्रजनन् क्षमतामा असर
पीसीओएसले महिलामा प्रजनन् समस्या निम्त्याउँछ । डिम्बाशयमा तरल पदार्थले भरिएको थैली र सिस्टको कारण अण्डको गुणस्तर घटाउँछ । साथै ओभ्युलेसन फ्रिक्वेन्सी पनि घटाउँछ । यसको नतिजा, गर्भवती हुने सम्भावना कम गराउँछ ।
अर्कोतर्फ मधुमेहले महिनावारी सुरु हुन र ढिलोगरी प्रजनन् दरलाई कम गर्न सक्छ । डिम्ब ग्रन्थीलाई चाँडै रुखो र बूढो बनाउँछ । यसले गर्दा समयअघि नै रजोनिवृत्ति निम्त्याउँछ । महिनावारीको अनियमितता रगतमा ग्लुकोजको स्तरसँग जोडिएको हुन्छ, जसले महिलाको प्रजनन् आयुलाई असर गर्छ ।
अब के गर्ने त ?
मधुमेह र पीसीओएसलाई रोक्न वा व्यवस्थापन गर्न चाहने महिलाले दीर्घकालीन प्रभाव कम गर्न स्वस्थ जीवनशैलीको अभ्यास गर्नुपर्छ । नियमित व्यायाम गर्ने, सही खानपान गर्ने, मानसिक रुपमा स्वस्थ रहने जस्ता कुराले मोटोपन बढ्न दिंदैन ।
मोटोपन बढ्नुमा निष्क्रिय जीवनसँगै खानपानको भूमिका खास हुन्छ । सही, सन्तुलित, सुपाच्य खानेकुराले मोटोपन बढ्न दिंदैन । पौष्टिक खानेकुरा, सन्तुलित खानेकुरा, ताजा फलफूल र सागसब्जीको मात्रा बढाउनुपर्छ ।
आईभीएफ एक विकल्प
पीसीओएस वा मधुमेह जस्ता अवस्थाका कारण महिलाले गर्भधारण गर्न कठिनाइ भइरहेको अवस्थामा इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) एउटा उत्तम विकल्प हुनसक्छ । यस विधिमा शुक्रकीटको साथ अण्डलाई शरीर बाहिर नै निषेचन गर्ने र त्यसपछि भ्रूणलाई गर्भाशयमा प्रत्यारोपण गरिन्छ । याे अनलाइन खवरबाट साभार गरिएकाे हाे।