२०८१ कार्तिक ६, १६:३०
#खेलकुद #ब्रेकिङ न्युज

काँकरभिट्टा एफटिसीलाई हराउँदै होक्से युथ क्लब च्याम्पियन

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगिताको उपाधि होक्से युथ क्लबले जितेको छ । काँकरभिट्टा एफटिसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै होक्से च्याम्पियन बनेको हो ।


नकलबन्दा समाज विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा शनिबार उपाधिका लागि काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र होक्से युथ क्लब मैदानमा उत्रिएका थिए । उपाधि जितेसँगै होक्सेले नगद ५० हजार नगद, प्रमाणपत्र तथा ट्रफी प्राप्त गरेको छ भने उपविजेता काँकरभिट्टाले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरे ।


७ औँ मिनेटमा काँकरभिट्टाका खेलाडी रोमन भुजेलले आफ्नै पोष्टमा गोल गर्दा होक्सले अग्रता लिएको थियो । होक्सेका खेलाडीले हानेको कर्नरलाई क्लियर गर्न खोज्दा बलले पोष्टको दिशा लिएको थियो । ३५–३५ मिनेट खेलाइयो फाइनल खेलको ३० औँ मिनेटमा काँकरभिट्टाका दिनेश मुर्मुले बराबरी गोल फर्काएका थिए । मैदानको बीच भागबाट मुर्मुले गरेको प्रहारले सोझै गोलपोष्टको दिशा लिएको थियो । तर, त्यसको १५ सेकेण्ड बित्न नपाउँदै होक्सेले काँकरभिट्टालाई ‘रिटर्न गिफ्ट’ गोलको रुपमा दिएको थियो । होक्सेका सागर रसाइलीले गोल गरेका थिए । होक्सेकै टर्फबाट ४५ औँ मिनेटमा पुजन थापाले थप एक गोल गर्दै टिमको जीत सुनिश्चित गराएका थिए । थप गोल गर्न दुवै टिमले थुप्रै संघर्ष गरेपनि सफल भएनन्, खेल ३–१ को स्थितिमा सकिएको थियो ।


मेचीनगर–५, मेची आधारभूत विद्यालयको खेल मैदानमा सम्पन्न भएको खेलको म्यान अफ दि म्याच होक्सेका पुजन थापाले नगद १ हजार प्राप्त गरे । प्रतियोगिताको बेस्ट स्ट्राइकर होक्सेकै सागर रसाइली, उत्कृष्ट डिफेन्स होक्सेकै पवन परियार (बाबा), उत्कृष्ट गोलरक्षक होक्सेकै उपेन्द्र ल्वागुन, हाइस्कोरर होक्सेकै पुजन थापाले नगद २ हजारसहित ट्रफी, मेडल पाए । प्रतियोगितामा भारतका २ वटा टिमसहित १६ टिमले सहभागिता जनाएका थिए ।


प्रतियोगिताको समापन कार्यक्रममा झापा क्षेत्र नम्बर १ (क)का प्रदेश सभा सदस्य माननीय गोपाल तामाङको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख विमल आचार्य, युवा व्यवसायी, सामाजिक व्यक्तित्व केशवराज पाण्डे, मेचीनगर नगरपालिकाकी कार्यपालिका सदस्य माया प्याकुरेल, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, समाजका पूर्व अध्यक्ष तथा नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष होमराज गुरुङ, मेचीनगर–५ का वडा सदस्य पुष्प गेलाल, वडा सदस्य देवीमाया वि.क., मेचीनगर–६ का वडा सदस्य धु्रव राई, सदस्य भविन्द्र सुब्बा, नकलबन्दा समाज विकास समितिका कोषाध्यक्ष तथा मेचीनगर–५ का निवर्तमान वडा सदस्य नारायण खड्का, मेचीनगर–५ निवर्तमान वडा सदस्यहरु मेघराज गेलाल, दुर्गा आचार्य देवकोटा, चन्द्रकला विक, स्व. पवनकुमार खड्काको माता तारादेवी खड्का, भाई अमृत खड्का, नकलबन्दा बि.ओ.पी इञ्चार्ज अधिरकुमार झा, नकलबन्दा इलाका इञ्चार्ज भीमबहादुर राई, मेची आधारभूत विद्यालयका अध्यक्ष राजेन राजवंशी, आयोजक समितिका आर्थिक संयोजक पर्शुराम पराजुलीलगायतको आतिथ्यता रहेको थियो ।


समापन कार्यक्रममा पूर्व खेलाडीहरु हेमु गुरुङ, कृष्ण देवान र टंक समाल मगरलाई सम्मान पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा गंगा मेमोरियल इङ्लिस स्कुल र मेची आधारभूत विद्यालयको सांस्कृतिक प्रस्तुति रहेको थियो ।


खेल संयोजक भक्त गुरुङको सभापतित्व रहेको कार्यक्रममा आर्थिक समिति सदस्य नारायण खड्काले स्वागत तथा सदस्य सुरज तामाङले सञ्चालन गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *