२०८१ कार्तिक ६, १८:१२
#ब्रेकिङ न्युज

प्रजातन्त्र दिवस तीनदिनसम्म भव्यतापूर्वक मनाउने

काठमाडौँ-सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क/स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख/रचनाको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्वलन गरिनेछ।

यस्तै सबै जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाको सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने, जिल्लास्तरमा फरक क्षमता भएका विद्यार्थीले अध्ययन गर्ने विद्यालयमा उपयुक्त हुने शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने सरकारको निर्णय छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट गौरवमय मौलिक पहिचान तथा विशेषता झल्कने विद्युतीय प्रचार सामग्री समूचित प्रचार–प्रसारका लागि परराष्ट्र मन्त्रालयमार्फत विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा पठाउने बैठकको निर्णय छ।

बैठकले सातै प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेशस्तरीय ‘राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समिति’ र सबै स्थानीय तहमा ‘राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम आयोजक समिति’ गठन गरी विविध कार्यक्रमका साथ राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरूपमा मनाउन प्रदेशबासीलाई अनुरोध गरेको छ।

 

धरानमा माघ २६ गते ‘साइनो साँझ’ आयोजना

Leave a comment

Your email address will not be published. Required fields are marked *