२०८१ कार्तिक ७, ०३:२९
#ब्रेकिङ न्युज

अधिकार पाउनका लागि पुरुषसँग लड्नुपर्छःसांसद लक्की गणेश

झापा, ३ माघ । कोशी प्रदेशकी सांसद लक्की गणेशले हामीले नलडेसम्म पुरुषले अधिकार दिँदैनन्, त्यसैले अधिकार पाउनका लागि ठोकेर लिनु पर्ने बताएकी छिन् । आज बिर्तामोड स्थित होटल ग्राण्ड प्यासेफिकमा महिला जनचेतना केन्द्र मेचीनगरले आयोजना गरेको वाल विवाह न्युनिकरण तथा महिला सशक्तीकरण प्रदेशस्तरीय तीनदिने कार्यशाला गोष्ठीमा सांसद गणेशले त्यस्तो कुरा बताएकी हुन् ।

‘छोरा पाएन भनेर धेरै बच्चा जन्माउने महिला मेसिन हो’, सांसद गणेशले भनिन्–‘छोरा जन्माउन नसक्नु के महिलाको दोष हो ? ।’ वालविवाह रोक्न पहिला शिक्षित हुन आवश्यक रहेको उनले बताइन् । उनका अनुसार शिक्षित भए मात्र वालविवाह नियन्त्रण हुन्छ । ‘महिला हिंसा भइरहेको छ हामी भन्न डराउँछौँ । पृतिसतात्मक परम्परादेखि हामी धेरै पीडित छौँ । गाउँमा सिंहदरबार आयो । तर, स्थानीय तहले यस क्षेत्रमा केहि काम गरेको छैन । गाउँ गाउँमा जनचेतना फैलाउन जरुरी छ’,–उनले भनिन् ।

महिला हिंसा परम्परागत : बिर्तामोड मेयर महतरा

कार्यक्रममा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतरा प्रसाईले महिला हिंसा परम्परागत छ तर पुरुष पनि हिंसामा परेका घटना धेरै रहेको बताइन् ।
उनले महिलाका समस्या धेरै छन्, कानूनी अपठेराहरु पनि छन् । महिला हिंसा हटेको छैन । यसको न्युनिकरणका लागि समुदायमा गएर पुरुष र महिलालाई नै प्रशिक्षण दिनु पर्ने बताइन् ।

कानून छ, कार्यान्वयन छैन : मेचीनगर उपमेयर उप्रेती

मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले वाविवाहको समस्या धेरै छ, यसलाई लुकाउने कुराले प्रश्रय पाएको दावी गरिन् । उनले कानून छ, कार्यान्वयन छैन । महिला सशक्तीकरणका लागि राजनीतिक दलहरुले पनि छेकबार गरिरहेको बताइन् ।

कानूनको छिद्र खोजेर पुरुष हावी : सीडीओ बाँस्तोला

‘वालविवाह र महिला हिंसा अहिले हट केकको रुपमा छ’, झापाका सीडीओ बन्धुप्रसाद बाँस्तोलाले भने–‘मुख्य कारण गरीवी हो । यस विषयमा स्थानीय तहले काम गर्न सकेन । राज्यले काम गरेन बरु सामाजिक संघ–संस्थाले काम गरिरहेका छन् । कडा कानून बनाउनु पर्छ । कानूनका छिद्र खोजेर पुरुष हावी हुने काम मात्र भइरहेको छ ।’

वालविवाहको समस्या मुस्लिम समुदायमा बढी : एसपी रेग्मी

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी दुर्गाराज रेग्मीले वालविवाहको समस्या झापामा रहेको बताए । वालविवाह रोक्नु पर्छ भनेर संघ–संस्था लागि परिरहेको छन् । तर, त्यहि नियम, कानून बनाउनेहरु वालविवाहमा सहभागी भइरहेको उनको भनाई छ ।
झापामा वालविवाहको बढी समस्या मुस्लिम समुदायमा रहेको एसपी रेग्मीको दावी छ । उनले अहिलेसम्म आफ्नो कार्यालयमा वालविवाह सम्बन्धी एउटा पनि मुद्दा दर्ता नभएको बताए ।

पृतिसतात्मक युगप्रति महिला एकजुट हुनुपर्छ : अध्यक्ष प्रधान

महिला जनचेतना केन्द्र मेचीनगरकी संस्थापक राधा प्रधान कार्कीले सन २००९ देखि यस संस्थाले महिला हिंसा लगायत सामाजिक कार्यमा सक्रियरुपमा काम गर्दै आएको बताइन् ।
उनले महिला हिंसाको मुख्य कारण गरिवी रहेकोले महिलालाई सीपमुलक तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने प्रयत्न गरिरहेको दावी गरिन् । आधा आकास आगेटेको महिलालाई छाँयामा, अध्यारोमा पार्ने पृतिसतात्मक युगप्रति सबै महिला एकजुट भएर अघि बढ्न उनले आग्रह गरिन् ।

तालिममा १४ वटै जिल्लाका ६० जना सहभागी

आजदेखि ३ दिनसम्म सञ्चालन हुने तालिममा कोशी प्रदेशका १४ वटै जिल्लाबाट ६० जना महिलाहरु सहभागी भएका छन् । आज वालविवाह सम्बन्धी तालिम दिइएको छ भने विहीबार र शुक्रबार महिला सशक्तीकरण सम्बन्धी तालिम हुने आयोजक संस्थाले जनाएको छ । वालवविाह सम्बन्धी तालिममा सहभागीहरुलाई हाल युएनडिपीको प्राविधिक विज्ञको रुपमा कार्यरत दिलप्रसाद मगरले प्रशिक्षण दिएका छन् ।
यस्तै ओरेककी कार्यकारी निर्देशक सुनिता मैनालीले महिला सशक्तीकरण सम्बन्धी तालिम दिनेछिन् । महिला जनचेतना केन्द्र मेचीनगरकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत सचिव भुवन सुब्बाले र सञ्चालन शुष्मा राजबंशीले गरेकी थिइन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *