२०८१ मंसिर १३, १२:२७

२० वर्षपछिको नेपाल (एउटा कल्पना)

पृष्ठभूमि

खोटाङ जिल्लाको कुभिण्डेमा जन्मेर खार्पा हाइस्कुल पढेको म, क्याम्पस पढ्न विराटनगर झरे। विराटनगरमा पढ्दापढ्दै लोकसेवाबाट सरकारी जागिर शुरु गरेकोमा, पछि बुवाहरू पनि विराटनगर नै बसाइ सरेपछि त्यहीं बसोवासका क्रममा विवाह भयो। विराटनगरमा जन्मेकी र केही समय त्यहीं पढेकी छोरी मेरो जागिरसँगै काठमाडौंमा बसेर १२ कक्षासम्म पढेकी हुन्। मैले नेपालमै बसेर केही गर भन्दा पनि नेपालमा कानूनको शासन र केही गर्छु भन्‍नेलाई अवसर र वातावरण केही नभएको भन्दै स्‍नातक गर्न अमेरिका गएकी मेरी छोरी हाल उतै बसोवास गर्छिन्। म जागिरबाट रिटायर्ड भएपछिको २० वर्षपछि पुरानो जन्मस्थान र आफ्नो घर सम्झिएर उनै छोरी अहिले नेपाल आएकी छन्। सोही क्रममा  जन्मेको, हुर्केको, पढेको र बढेको ठाउँ हेर्न हामी बाबुछोरी पहाड, मधेश तराई र काठमाडौं घुम्दै छौं। यथार्थमा अहिलेकै गतिमा सबै कुरा अगाडि बढ्दै गएमा २० वर्षपछि नेपालको हुन सक्ने अवस्थाको परिकल्पना गरी पहाड, मधेश तराई र काठमाडौं अर्थात समग्र नेपालको अवस्था यहाँ उल्लेख गर्न खोजिएको छ।

पहाड

अमेरिकाबाट आएकी छोरीलाई मैले हातले देखाउँदै भने, ‘छोरी हाम्रो घर यही हुनुपर्छ। केही ढुंगाहरू छन् नि, यी पक्कै हाम्रो पुरानो घरको जगको हुनुपर्छ।’

‘यो त सबै जंगल छ त बाबा,’ छोरीले अचम्म मान्दै सोधिन्, ‘अनि खेतबारी भन्‍नु हुन्थ्यो हजुरहरू। यस्तोमा कसरी बस्‍नु हुन्थ्यो? के खानु हुन्थ्यो? यहाँ त दिउँसै चितुवा आउने डर छ। बाँदर, स्याल र मल्साँप्राहरू कुदिरहेका छन्। राति हजुरहरू कसरी बस्‍नु हुन्थ्यो? तल हरम्टारमा गाउँपालिकाको भवनहरूका छेउछाउका केही घरहरू भन्दा बस्ती नै छैन। अनि खेतीपाती पनि केही छैन त?’

म स्तब्ध भएँ र यथार्थ कुरा छोरीलाई सुनाउन थालें।

‘हो छोरी तिमीलाई यो पत्याउन गाह्रो लागेको हो। तर, यथार्थ यही हो। मैले देखाएकै ठाउँमा हाम्रो घर थियो। म यही घरमा जन्मे, हुर्केको र बढेको हो। अहिले देखिने यो सबै हाम्रो बारी हो। यहाँ हामी मकै र कोदो तथा मास डवांगेजस्ता दाल र तरकारीहरू खेती गर्थ्यौं। घर वरिपरि लिच्ची, आँप, नास्पाती, सुन्तलाजस्ता फलफूल थिए। ती दुइटा लिच्चीका बोट त अहिले पनि बुढा भएर रहेका छन्।

तल रावा खोलाको वारिपट्टि उठेको जंगल देखिएको जमिन हाम्रो त्यतिखेरको खेत हो। त्यहाँ तीन बाली खेती हुन्थ्यो। धान, गहुँ र मकै त्यो खेतमा फल्थे। यतापट्टि ढाँडगाउँ पूरा मगर बस्ती थियो। अर्कोतिर त्यता खत्री गाउँ, थुम्के र माथि माझगाउँमा पोखरेलहरू, हाम्रो माथितिर सार्कीहरू र हाचेका दम्कु र अम्बोटेमा राई गाउँ थिए। सबै जातजाति हामी कति मिलेर बसेका थियौं। सबैको आ-आफ्नो संस्कार। हामी राईहरूको साकेला नाच्‍न, ढाँडगाउँमा दशैंमा जुवा तास हेर्न र तिहारमा  देउसी खेल्न कति रमाइलो हुन्थ्यो। ढाँडगाउँ, थुम्के, हाचेका र दम्कुको रोटेपिङ र छेलान्‍ने, थुम्के र तेर्छाबाटाको लिगे पिङ खेल्न कति रमाइलो हुन्थ्यो, दशैं तिहारमा। कहिलेकाहीं त हामी साथीभाइ मिलेर हौचुर र कटहरेसम्म पिङ खेल्न जान्थ्यौं।’

म भावुक बनें। छोरी चासो दिएर सुनिरहेकी छ। आफूले आफैंलाई सम्हाल्दै मैले भने, ‘यो सब अहिले देखिएको जंगल गाउँ थियो। हामीले गाई, भैंसी र बाख्रा पालेका थियौं। बिहान गाई-बाख्रालाई घाँस काटेर हामी त्यो पल्लो गाउँको खार्पामा स्कुल पढन जान्थ्यौं। बिदाको दिन दिनभर खेतबारीमा काम गरेथ्यौं। यहींको अन्‍नले हामीलाई खान पुगेको थियो। बचेको अन्‍न र लिच्ची, आँपजस्ता बढी हुने फलफूलहरू दिक्तेल तथा एैसेलुखर्क लगेर बेचेर त्यही पैसाले मट्टितेल, नुन, चिनी, मसलाजस्ता उत्पादन नहुने आवस्यक वस्तुहरू त्यहींको हाटबाट खरिद गर्नुपर्थ्यो। त्यतिखेर गाडीको बाटो, बिजुली र टेलिफोन केही थिएन। भारी बोकेर गोरेटो बाटो हिँड्नुपर्थ्यो। अहिले गाउँकै बाटो भएर गाडीहरू हिँडिरहेका छन्। बिजुलीबत्ती छ। टेलिफोन सबैका हात-हातमा छन्। विद्यार्थी नभए पनि स्कुलहरू हरेक गाउँमा पुगेका छन्। घर-घरमा टेलिभिजन छन्। केही स्वास्थ्य केन्द्र पनि बनेका छन्। तर, गाउँ सबै खाली छ। हिजोको बस्ती सबै जंगल भइसक्यो। कहाँ-कहाँ एका-दुई घर छन्। ती घरमा पनि बुढाबुढी तथा केटाकेटी मात्र छन। चुनावका बेला शहर बजारतिरबाट केही मानिस गाउँमा भोट हाल्न तथा चुनाव लड्न आउँछन्। त्यो पनि तिमीजस्तै विदेशमा बसेका छोराछोरीले भनेका मान्छेलाई भोट हाल्छन्। त्यसैले अहिले सबै राजनीतिक दलहरूका संगठनले विदेशमा राजनीति गर्छन्। चुनाव जितेका यहाँका पदाधिकारी पनि राजधानी वा सदरमुकाम कता बस्छन्, चुनावबाहेक यहाँ भेटाउन मुस्किल पर्छ। यहाँ गाउँमा त त्यस्तै पर्दा लाश जलाउने मान्छे पनि पाइन छोडेको छ। त्यसैले खोलामा पनि लाश लान छोडेर अहिले आइमाई, केटाकेटीहरू भएर घर नजिकै खोल्सामा जलाउन थालेका छन्।’

‘हाम्रा पालामा जस्तो यहाँ अहिले दशैं-तिहारजस्ता चाडपर्व पनि आउन छाडेका छन्। विवाह व्रतबन्धमा हुने जन्तेबाख्रो खाने र भीख दिने प्रचलन पनि शहर र सदरमुकाममा रहेका पार्टी प्यालेसमा मदिरासहितको भोजमा परिणत भएका छन्। हाम्रो धर्म, संस्कार, परम्परा सबै परिवर्तन भइसक्यो छोरी।’

छोरी अचम्म मान्दै सोच्‍न थालिन्।

हामी केही दिनको पहाडको बसाइपछि मधेश तराईतिर लाग्यौं।

तराई मधेश

पहाडको २-४ दिनको बसाइपछि हामी बाबु-छोरी विराटनगर झर्‍यौं। विराटनगरमा जहाँ हाम्रो घर थियो, त्यहाँ अहिले एउटा ड्रान्सबार बनेको रहेछ। छोरीले क, ख सिकेको स्कुलमा स्टार होटल देखियो। अनि नजिकै क्यासिनो र त्यहाँ आउने भारतीय नागरिकहरूको भीडभाड।

यहाँको यस्तो वातावरण देखेर छोरीले फेरि सोधिन्, ‘यहाँ पनि त धेरै परिवर्तन भएछ नि बाबा। पर खेततिर चैं धेरै जंगल भएछ। यता सबै बजार, तर जता हेरे पनि होटल, क्यासिनो र डान्सबार मात्र। अनि ती हाम्रा छिमेकी नेपाल बा, कार्की बा, यादव दाइ अनि राजवंशी दिदीहरू चै कता गए त?’

मैले भन्‍न थालें, ‘यहाँका पनि साँच्चै रैथाने आदिवासी र त्यतिखेरका हामीजस्ता बासिन्दाहरू त थोरै मात्रामा बुढाबुढी र केही केटाकेटीहरू हाउजिङतिर फ्ल्याटमा होलान्। धेरै विपन्‍नहरू यिनै होटल, क्यासिनोहरूमा सेक्युरिटी गार्डको काम गर्छन्। केही चेलीबेटीहरू डान्सबारमा नाच्‍ने काम गर्छन्। यहाँ अहिले क्यासिनो, होटल र बारहरू खुब चलेका छन्। भारतीयहरूकै लगानी छ र यहाँ आउने ग्राहक पनि केही अन्य विदेशी छोडेर भारतीयहरू नै बढी हुन्छन्। नेपाली पढे-लेखेका र काम गर्न सक्ने जनशक्ति प्रायजसो विदेशतिरै छन्। उनीहरूले पठाएको रेमिट्यान्समा यहाँ बसेका बुढाबुढी र केटाकेटीहरूले गुजारा गर्छन्। खेतीपाती त देखिसकियो, खेतीयोग्य उर्वरा जमिन सबै बाँझै छन्।’

‘ठूला र उत्पादनमुलक उद्योगहरू सबै बन्द भए। चलाउन खोजेमा कामदार नै पाइँदैन, अनि पाए पनि राजनीतिक दल, तिनका भातृसंस्था र दलाल डनहरूलाई चन्दा दिँदा कसैले धान्‍नै सक्दैन। तिनै डनहरू पार्टनर बनाएर यी होटल र क्यासिनोहरू चलेका छन्। यहाँ जुवा खेल्न प्रायः धेरै भारतीयहरू नै आउँछन्। भारतमा खुला रूपले रक्सी पिउन नपाइने हुँदा यहाँ बारहरू पनि बढेका छन्। यहा बढेको भनेकै यही क्यासिनो, बार र वेश्यावृत्ति आदि छन्। अनि हिजोका गाउँघरका खेतीपाती हुने उर्बर जमिनजति सबै जंगल भए। बाघ, भालु र जंगली हात्तीहरूले दिउँसै बस्‍न दिन्‍नन्। शहरका खेतीयोग्य जमिनहरू होटल, क्यासिनो र बारहरू भए। बाँकी केही पनि प्लटिङ गरेर घर बनेर सकिए। उत्पादन गर्ने उद्योगधन्दा प्रायः केही छैनन्।’

‘उपयोगका लागि सबैथोक आयात हुन्छ। अनि यहाँ काम गर्न सक्ने युवा जनशक्ति पनि कोही छैनन्। सबै खाडी मुलुक, युरोप र अमेरिकातिरै छन्। बाहिर जानै नमान्‍ने बुढाबुढी र साना बच्चाबच्चीका आमाहरू यहाँ डेरा वा भाडामा बस्छन्। प्रदेशका मन्त्री, सांसद र राजनीतिक दलका नेता तथा तिनका केही कार्यकर्ताहरू यहाँ छन्। तिनीहरू पनि संसद चलेको बेलाबाहेक राजधानी वा विदेशतिरै हुन्छन्। हुन पनि उनीहरूका भोटर उतै छन्। केही सुरक्षा निकाय र सरकारी कर्मचारीहरू जागिरका लागि यहाँ बसेका छन्। उनीहरू पनि जनताको भन्दा तस्कर, अपराधीहरूको इशारामा काम गर्छन्। यहाँ हालीमुहाली उनीहरूकै छ। यहाँ रहेका होटल, क्यासिनो र बारमा काम गर्ने कामदार पनि सबै विदेशी छन्। केही सुरक्षा गार्ड, पाले र डान्सरहरू थोरै मात्र नेपाली होलान् छोरी।’

छोरी अचम्म मान्दै के के सोच्दै छ।

काठमाडौं

पहाड र मधेशको बसाइपछि हामी अहिले काठमाडौं आएका छौं।

काठमाडौं, नेपालको राजधानी शहर, ठूला-ठूला होटल, क्यासिनो र हाउजिङहरूले भरिभराउ । केन्द्रीय राजधानी भएकोले संघीय संसद, कार्यपालिका, सर्वोच्च अदालत, विभिन्‍न मन्त्रालयहरू, सुरक्षा निकायहरू लगायत केन्द्रीय कार्यालयहरू पनि यहीं छन्। हिजोको उर्बराशील उपत्यका समग्रमा एउटा कंक्रिटको जंगलजस्तो भएको छ। डाँडापाखाहरू पनि सबै होटल र रेस्टुराँले भरिएका छन्। जताततै सवारी जाम छ। पानीको त्यस्तै हाहाकार छ। मेलम्ची र लार्केको पूरै पानी काठमाडौं ल्याएको भए पनि अव्यवस्थित बसोबास र पूरा नेपाल नै प्रायः काठमाडौंमै बस्‍ने भएकोले १५ दिनमा बल्लबल्ल तीन घण्टा पानी आउँछ। भव्य शहर, खपिनसक्नु भीडभाड र एकदमै अव्यवस्थित।

‘काठमाडौंमा चैं यस्तो भीडभाड किन भएको त बाबा?’ छोरीले प्रश्‍न गरिन्।

‘अँ छोरी, नेपालका सबै गाउँहरू खाली भए नि, ती सबैको चाप काठमाडौंमै परेको छ। गाउँघरमा भएका अलि सम्पन्‍नहरू सबै यहीं बसाइँ सरे। त्यहाका पालिका प्रमुखलगायत राजनीति गर्ने राजनीतिकर्मी तथा कर्मचारीहरू र सुरक्षाकर्मीहरूको पनि प्रायः यही काठमाडौंमा घर बनेको छ। केही थोरै मात्रै जिल्ला सदरमुकाम र प्रदेश मुकामतिर होलान्। विदेशमा राम्रो काम गरेर पैसा कमाउनेहरूले समेत यही राजधानीमा घर वा फ्ल्याट लिएर परिवार राखेका छन्। त्यसैले प्रायः सबै नेपाल काठमाडौंमै थुप्रिएको छ भन्दा हुन्छ। चुनाव लड्ने र भोट हाल्ने बेलामा मात्र प्रायः गाउँघरतिर भोटर लिएर केही नेताहरू जान्छन्। नभए जनताको काम पर्दा प्रायः गाउँमा कोही भेटिँदैनन्। समग्रमा हिजोको हिमाल, पहाड, तराई र उपत्यकासहितको समग्र नेपाल आज काठमाडौं मात्र भएको छ। त्यसैले सबै अव्यवस्थित बसोवास, भीडभाड, बेला-बेलामा आउने महामारी यहाँ भनिसाध्य छैन। खानेपानीको समेत यस्तो हाहाकार अनि महँगीको मार त्यस्तै छ।’

‘समग्रमा हिजोको हिमाल, पहाड र तराई हाल सबै सुविधा सम्पन्‍न भएका छन। त्यहाँ बस्‍न कति रमाइलो छ। स्वच्छ हावापानी, यातायातका लागि सुविधा सम्पन्‍न बाटो, घर-घरमा बिजुली, पानी अनि हरेक पालिकामा स्वास्थ्य सुविधा र सबैका हातहातमा मोबाइल र इन्टरनेट पुगेका छन्। पहिले त्यस्तो केही सुविधा नभएका हाम्रा गाउँघर तुलना गर्दा अहिले सबै विकास निर्माण र सुविधा सम्पन्‍न भएका छन्। तर, अहिले त्यहाँ कोही छैनन्। विकास, सहजता र सुविधाले मात्र मानव बस्‍नयोग्य नहुने रहेछ छोरी। देशको नीति, राजनीति र कानून व्यवस्था सबभन्दा जरुरी रहेछ। तिमी अमेरिकामा जति दुःख गर्छौ, त्योभन्दा बढी सुख यहीं छ। तर, तिमी किन नेपाल बस्‍न चाहन्‍नौ। यो सबै शान्ति, स्थिरता र सुशासनमा भर पर्ने रहेछ।’

मैले भन्दै गएँ, छोरी मौन भइन्।

संक्षेपमा

भरखरै प्राप्त एक तथ्यांकअनुसार विगत एक वर्षमा १६ लाख नेपाली रोजगारीका लागि विदेश गए। करिब ७० हजार त देशै छोडी गए। पढ्न जाने विद्यार्थीहरूले त १२ कक्षा पछाडि नेपालमा पढ्नै छाडे भन्दा हुन्छ। अहिलै १७ वटासम्म सरकारी स्कुल गाभेर एउटा स्कुल बनाइएको छ। र, प्लस टु पछाडि क्याम्पसहरूले विद्यार्थी पाउन छाडेका छन्। हामी विदेश जान पैसा खर्च गरेर शरणार्थी बन्‍न वा राष्ट्रियता बेच्‍नसमेत तयार भएका छौं। समाजमा सकारात्मक सोच हराइसक्यो। नकारात्मक र गाली गर्न पाउँदा हामी खुशी हुन थालेका छौं।

राज्यमा बसेर केही गर्न नचाहने अनि विदेशमा बसेर नकारात्मक सोच बढाउन सामाजिक सञ्जाल प्रयोग गरेर हामी रमाउँछौं। हाम्रा दुर्गम गाउँमा विकास पुग्दैछ। तर, गाउँ दिन प्रतिदिन सुनसान हुँदैछन्। उद्योगधन्दा बन्द हुँदै जाने, तराई र उपत्यकाका उर्वराशील भूमीमा घर बन्दै मासिँदै जाने अनि गाउँघर जंगल बन्दै गएको अहिलेको अवस्था जगजाहेर छ। यही प्रवृत्ति निरन्तर कायम रहेमा र यसलाई केही परिवर्तन गर्न नसकेमा २० वर्ष पछाडि नेपालमा राजनीति गर्ने नेतृत्व, सरकारी कर्मचारी र सुरक्षाकर्मीबाहेक केही अशक्त बुढाबुढी, केटाकेटी मात्र नेपालमा हुने तथा आन्तरिक उत्पादन बन्द भई रेमिट्यान्स र आयातको भरमा देश चल्नुपर्ने अवस्था देखिएकोले यसतर्फ हाम्रा नीति निर्मातालगायत सम्बन्धित सबैको ध्यान जानु जरुरी देखिएको छ। सोही विषय उजागर गर्न मात्र यहाँ एउटा परिकल्पना गरी कथात्मक रूपमा यो आलेख तयार गरिएको हो।

रामप्रसाद रेग्मी हाल मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *