२०८१ कार्तिक ६, १२:१७

कम्प्युटर र मोबाइल धेरै चलाउनेलाई हुनसक्छ ‘कम्प्युटर भिजन सिन्ड्रोम’

काठमाडौं : विश्व डिजिटलको जमाना छ। जसले गर्दा मानिसहरू कार्यालयमा होस् वा घरमा हिजोआज धेरै समय कम्प्युटर र ल्यापटपमा काम गर्छन्। कार्यालयमा मात्रै होइन घरमै बस्दा पनि बालबालिकादेखि युवासम्म लामो समय मोबाइल, आइप्याडमा बिताउने गर्छन्।

कम्प्युटर र ल्यापटप नचलाउनेहरू पनि टिभी हेर्ने गर्छन्। यी प्रविधियुक्त सामानहरूले हाम्रो दैनिकीलाई त धेरै सजिलो बनाइरहेको छ तर यसले मानव स्वास्थ्यमा पनि उत्तिकै हानी पुर्‍याइरहेको छ। त्यसैले  प्रविधिको प्रयोग गर्दा ध्यान पुर्‍याउन नसकेमा आँखा कमजोर हुँदै जान्छ।

तपाई‌ंलाई थाहा नहुन सक्छ धेरै समय कम्प्युटर, ल्यापटप, मोबाइल चलाउने र टिभी हेर्ने मानिसहरूलाई ‘कम्प्युटर भिजन सिन्ड्रोम’ को समस्या देखिने गर्छ। हिजोआज आँखाको समस्या लिएर आस्पताल पुग्ने आधाभन्दा बढी व्यक्तिमा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या देखिएने गरेको छ। जसको प्रमुख कारण भनेकै लामो समयसम्म डिजिटल सामान (कम्प्युटर, ल्यापटप, मोबाइल र टिभी) प्रयोग गर्नु नै हो।

सामान्यतया स्वस्थ व्यक्तिले १ मिनेटमा १६ देखि २० पटकसम्म आँखा झिम्क्याउने गर्छन्। लामो समयसम्म टिभी हेरिरहने, कम्प्युटर, मोबाइल चलाइरहने गर्दा आँखा झिम्क्याउन कम हुने हुनाले आँखा सुख्खा भइ भिजन सिन्ड्रोम हुन्छ।

लामो समयसम्म टिभी हेरिरहने, कम्प्युटर, मोबाइल चलाइरहने व्याक्तिको आँखामा आँसु फैलिन पाउँदैन र सुक्खा हुन्छ। जसले गर्दा आँखा बिझाउने, टाउको दुख्ने, धमिलो देख्ने, आँखा पोल्ने, हेर्न गाह्रो हुने हुन्छ।

धेरै आँखा सुक्खा हुने समस्या भएकाहरूमा रातीमा समयभन्दा पहिला नै निद्रा लाग्ने, निन्द्रा नपुगे जस्तो हुने राति चाँडै बिउँझिने जस्ता समस्या हुन सक्छ भने लामो समयसम्म यस्ता समस्या देखिँदा  दृष्टि कमजोरसमेत हुनसक्छ। यस्तो समस्या लामो समयसम्म रहिरहे मानसिक स्वास्थ्यमा समेत असर पर्न सक्ने जोखिम हुन्छ।

कम्प्युटर भिजन सिन्ड्रोमबाट बच्न के गर्ने?

लामो समयसम्म कम्प्युटर, ल्यापटप मोबाइलजस्ता डिजिटल सामान सकभर प्रयोग गरिरहनु हुँदैन। यदि गर्नु नै पर्ने हो भने सामान्यतया यस्ता सामान चलाएको २० मिनेटपछि आँखालाई आराम दिनुपर्छ । जसले आँखाभित्र आँसु फैलिइ सुक्खा हुन दिँदैन।

लामो समयसम्म कम्प्युटर, ल्यापटप मोबाइल चलाउनेहरूले ती सामान र आँखाबीचको दूरी ३५ देखि ४० सेन्टिमिटरसम्म राख्नुपर्छ। लामो समयसम्म एसी (एअर कुलर) भएको कोठामा बस्दा पनि आँखामा समस्या देखिने गर्छ। जसले गर्दा आँखाभित्रको नशा सुक्खा भई रगत जम्छ। आँखालाई चाहिने अक्सिजन पुक्दैन र दृष्टि कमजोर गराइदिन्छ। यसले गर्दा लामो समयसम्म एसिमा पनि बस्न हुँदैन।

लामो समयसम्म कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता डिजिटल सामानको प्रयोग गर्दा भिजन सिन्ड्रोम देखिने र पछि दृष्टि नै कमजोर हुने हुँदा सकेसम्म धेरै समय यस्ता डिजिटल सामानबाट टाढै रहनु राम्रो हुन्छ। धेरै टिभी हेर्ने र मोबाइल तथा कम्प्युटर चलाउने व्यक्तिले प्रशस्त मात्रामा पानी पिउनुपर्छ।

यस्तै चस्मा लगाउने, लामो समयसम्म कम्पुटरमा नबस्ने, समयसमयमा आखाँ चिम्लिने बानी बसाल्ने गर्नुपर्छ।

२०-२०-२० नियमको प्रयोग : २० मिनेट मोबाइल तथा कम्प्युटर हेरेपछि २० सेकेन्ड आँखालाई विश्राम दिने तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने गर्नुपर्छ। ​दिनमा दुई/तिन पटक आँखा पखाल्ने बानी बसाल्नुपर्छ।

यसका साथै सकेसम्म राति धेरै समयसम्म मोबाइल, कम्प्युटर, ल्यापटप जस्ता डिजिटल प्रविधिको प्रयोग गर्नुहुँदैन। रातको समयमा ती सामानले छोड्ने प्रकाश (लाइट) ले आँखामा एलर्जीसमेत हुन्छ।

तपाई‌ंलाई आफ्नो आँखा कमजोर छैन, लेखपढ गर्न सजिलो छ जस्तो लागे पनि कम्तीमा वर्षको एक पटक आँखा जाँच गराउनुपर्छ।​

Source: Thaha Khabar

कम्प्युटर र मोबाइल धेरै चलाउनेलाई हुनसक्छ ‘कम्प्युटर भिजन सिन्ड्रोम’

शुरु भयो ‘मेचीप्रेस’ को प्रकाशन

कम्प्युटर र मोबाइल धेरै चलाउनेलाई हुनसक्छ ‘कम्प्युटर भिजन सिन्ड्रोम’

मंसिर ०६ गते बुधबारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *