फाइनल प्रवेशका लागि आज बेलबारी र रेडहर्स एफसी आमनेसामने हुँदै

मेचीनगर । प्रथम निलसरी च्यालेन्ज कप २०८२ को अन्तिम सेमिफाइनल खेल आज हुँदैछ । फाइनल प्रवेशका लागि बेलबारी एफसी र रेडहर्स इलाम एफसी आमनेसामने हुँदैछन् । यी दुवै टोली आजको खेल जित्दै उपाधि नजिक पुग्न चाहान्छन् । आजको खेल जित्ने टिमले कम्तिमा एक लाख रक्षा गर्ने हुँदा यी दुई टिम बिचको खेल रोमाञ्चक र प्रतिष्पर्धात्मक हुने विश्वास फुटबल प्रेमीदर्शक र आयोजकले लिएको छ ।
मेचीनगर ७ स्थित जोरसिमलमा जारी प्रतियोगिताको फाइनल प्रवेशका लागि बेलबारी र रेडहर्स इलाम बिचको खेल दिनको ४ बजेबाट हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।
हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक जोरसिमलले झापा एफसी राजगढलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल पुगिसकेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको म्यान अफ द म्याचले नगद २ हजार ५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।