ब्रदर्श युनाइनेट एफसी चन्द्रगढीलाई हराउँदै धाइजन सेमिफाइनलमा

बाहुण्डाँगी । धाइजन फुटबल क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को सेमिफाइनल प्रवेश गरेको छ । बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको आइतबार सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा ब्रदर्श युनाइटेड एफसी चन्द्रगढीलाई २–० ले पाखा लगाउँदै धाइजनले सेमिफाइनलको यात्रा तय गरेको हो ।
मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको पहिलो हाफ बराबरी सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा धाइजन एफसीले दुवै गोल गरेको थियो । ५१ औँ मिनेटमा धाइजन एफसीका लागि सागर रसाइलीले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, ७९ औँ मिनेटमा धाइजन एफसीका जर्सी नम्बर २ का आशिष चापागाईले पहिलो बार च्याप्दै गरेको प्रहारले जाली चुमेको थियो । उनले खेलको अन्तिम मिनेटमा गोल गर्दै टिमको जीत सुनिश्चित गराएका थिए ।
१० औँ मिनेटमा ब्रदर्श युनाइटेडका सामेल तामाङको प्रहार धाइजन एफसीका गोलरक्षक विपिन चौधरीले बचाए । १३ औँ मिनेटमा धाइजनका सागर रसाइलीले दुई जनालाई विट गर्दै गरेको प्रहार फ्रेममा राख्न सकेनन् । ३० औँ मिनेटमा ब्रदर्श युनाइटेडका प्रविन राईको प्रहार गोलरक्षक चौधरीले सजिलै बचाए । ३५ औँ मिनेटमा चन्द्रगढी युनाइटेड अग्रता बनाउन चुक्यो । ब्रदर्श युनाइटेडका सविन मगरको लेफ्ट फुटेट सर्ट गोलरक्षक विपिन चौधरीले मुस्किलले बचाए । ७५ औँ मिनेटमा आशिष चापगाईको लङ रेन्ज प्रहारलाई देवन भुजेलले उत्कृष्ट बचाउ गरे ।
खेलको प्लेयर अफ द म्याच धाइजन एफसीका सागर रसाइली घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् ।
भोलिको खेल जहदा एफसी मोरङ र शनिश्चरे एफसी झापाबीच हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले रु १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले गरेका छन् । बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गरेका छन् ।
प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमी रहेको छ भने सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि. र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेका छन् । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।