विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कपः उद्घाटन खेलमा रेडहर्ष इलाम र केएफसी सिलिगुडी भीड्ने

मेचीनगर । बाहुण्डाँगी युवा क्लबको आयोजनामा विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ हुने भएको छ । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल रेडहर्ष एफसी इलाम र के. एफसी सिलिगुडी भारतबीच प्रतिस्पर्धा हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले रु ६१ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले दुई हजार, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टले रु १५ हजार, उत्कृष्ट गोलकिपर, बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, बेस्ट कोच, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरले नगद ५–५ हजार, मेडल र प्रमाण पत्र प्राप्न गर्नेछन् ।
प्रत्येक खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका छन् भने प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टको रकम सौजन्य आर्यना कृषि फर्मले गरेका छन् । बेष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, फाइनल खेलको उत्कृष्ट खेलाडी र इमर्जिङ प्लेयरको पुरस्कार सौजन्य दिवाकर कट्वालले गरेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न कुल ११ लाख २२ हजार अनुमानित खर्च र १६ लाख रुपैयाँ अनुमानित आय अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक विद्या विकास एकेडेमीले प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरेको छ । कार्यक्रममा मुख्य प्रायोजक र आयोजकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
प्रतियोगिताको सहप्रायोजकमा ग्लोबल कन्स्ट्रक्सन एण्ड वाटर ट्रिटमेन्ट प्रालि. र साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि रहेको छ । प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी मेचीनगर–४ रहेका छन् । प्रतियोगिता सम्पन्न गर्न झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहनेछ ।
प्रतियोगितामा भारतको दुईसहित ८ वटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगितामा रेड हर्ष एफ.सी. इलाम, के. एफ.सी. सिलिगुडी (भारत), धाइजन एफ.सी., ब्रदर्श युनाइटेड एफ.सी., शनिश्चरे एफ.सी. झापा, जहदा एफ.सी., मोरङ, आयोजक बाहुण्डाँगी युवा क्लब, रथखोला फुटबल एकाडेमी नक्सलबारी (भारत) सहभागिता जनाउनेछन् ।
खेलकुद क्षेत्रमा युवाहरुको क्षमता विकास गर्ने उद्देश्य लिएर स्थापना गरिएको बाहुण्डाँगी युवा क्लबले गत महिना इण्डो नेपाल क्रिकेट प्रतियोगिता समेत सम्पन्न गरेको थियो । क्लबले बाहुण्डाँगीमा विगत एक वर्षदेखि ससाना बालबालिकाहरूको लागि फुटबल प्रशिक्षक नियुक्त गरेर फुटबल प्रशिक्षण गर्दै आइरहेको छ । प्रतियोगिताबाट प्राप्त आयले आम नव युवा तथा कलिला बालबालिकाहरूको सर्वाङ्गिण विकासमा सहयोगी भूमिका खेल्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
संस्थाका अध्यक्ष जीवनकुमार मोतेको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव निरज राईले गरेका थिए । कार्यक्रममा विद्या विकास एकेडेमीका संस्थापक बद्री निरौला, पूर्व अध्यक्ष पोषककुमार दर्जी, आर्थिक समिति संयोजक तथा कोषाध्यक्ष ऐश्वर्या सुवेदी, बाहुण्डाँगी जेसीजका अध्यक्ष नित्यानन्द चौलागाईलगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।