मेची उद्योग वाणिज्य संघको २० औं बार्षिक साधारण सभा सम्पन्न

धुलाबारी । मेची उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सुष्मा राजवंशी सम्मानित भएकी छन् । विहीबार धुलाबारीस्थित होटल रोयल निर्वाणमा संघको २० औं बार्षिक साधारण सभामा पत्रकार राजबंशीलाई सम्मान गरिएको हो ।
उनले नगद २१ हजारसहित प्रमाणपत्र पाएकी छन् । त्यस्तै, उत्कृष्ट उद्योगीका रूपमा महावीर अग्रवाललाई सम्मान गरिएको छ । महावीरले धुलाबारी बजार बसाउन अहम् भूमिका खेलेका थिए । यसैगरी, उत्कृष्ट कर्मचारीमा नगद १५ हजारसहित गंगा विकलाई पुरस्कृत गरिएको छ । यसैगरी, एम्बुलेन्स चालक मिनबहादुर खड्कालाई १६ लाख ५२ हजार नगदसहित उपदान दिएर बिदाइ गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङले अबको ३ वर्षसम्म स्थिर सरकार रहने बताएका छन् । कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले उद्योग, व्यापार गर्न राष्ट्रिय नीति चाहिने बताए । उनले व्यापारको हितका लागि भारत र नेपालको व्यापार सन्धी र सम्झौता संशोधन गर्नु पर्ने बताए ।
पूर्व नगरप्रमुख विमल आचार्यले एसियन हाइवेले काँकरभिट्टाबाट म्यानमार, थाइल्यान्ड जाने बाटो जोडिँदै गरेको बताए । मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केशवराज पाण्डेले किमाथांका नाका सूचारू भयो, तर ओलाङचुङ गोला नाका नखोलेकाले व्यापार गर्न असहज भएको बताए । उनले मेचीनगरमा औद्योगिक करिडोर बनाउनु पर्ने बताए ।
बिर्तामोड उद्योग वाणिज्य संघ अध्यक्ष राजु न्यौपानेले राज्यले हेर्ने दुष्टिकोण ठिक नभएको बताए । सोही अवसरमा संघको ४ कठ्ठा जग्गामा भवन बनाउन पूर्व अध्यक्ष पाण्डे र व्यवसायी महावीरले १/१ लाख रूपैयाँ दिने घोषणा गरेका छन् ।
मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईंले स्वागतसहित प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको धन्यवादसहित समापन वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।