फाइनलमा थण्डर ११ र पेनोरिस –११ को भेट पक्का

मेचीनगर । थण्डर–११ इण्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । मेचीनगर –४ बाहुण्डाँगीस्थित सरस्वती माविको खेल मैदानमा जारी प्रतियोगिताको शनिबार सम्पन्न सेमिफाइनलमा आयोजक बाहुण्डाँगी क्रिकेट क्लबलाई ७६ रनले हराउँदै थण्डर–११ फाइनल प्रवेश गरेको हो ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको थण्डरले १९ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनाएको थियोे । थण्डरका लागि रोहित राजवंशीले सर्वाधिक ७३ रन बनाए भने विशेष बुढाथोकीले २८ रन, चन्द्र भट्टराईले २४ तथा विराट डाँगीले २० रन प्रहार गरे ।
बलिङतर्फ बाहुण्डाँगीका लागि आयुश दाहाल र सन्तोष प्रधानले समान ३/३ विकेट हात पारे भने नाजिर हुसेनले २ तथा रमन कार्की र निरोथ रोयले १/१ विकेट लिए ।
२०६ रनको विशाल लक्ष्य पाएको बाहनडाँगी निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै मात्रै १ सय २९ रन मात्र बनाउन सक्यो । बाहुण्डाँगीका लागि राजेश थापाले सर्वाधिक ४६ रन बनाए भने गणेश पौडेलले १७ रन, तथा आयुश दाहालले १४ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा आयोजक बाहुण्डाँगी सेमिफाइनलबाटै बाहिरिएको हो ।
यता बलिङतर्फ थण्डरका लागि विराट डाँगी, शिव राजवंशी र एलिट राईले समान २/२ विकेट हात पारे । प्रतियोगिताको म्यान अफ द म्याच थण्डरका रोहित राजवंशी घोषित हुँदै नगद १ हजार र मायाको चिनो प्राप्त गरे ।
फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते हुनेछ । उपाधिका लागि पेनोरिस –११ र थण्डर –११ ले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।