झापा एफसीलाई सडनडेथमा पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा

काँकरभिट्टा । नेपाल सुपर लिग (एनएसल) को तयारीमा रहेको झापा एफसीविरुद्ध सडनडेथमा जीत निकाल्दै लिगलिडर चर्च ब्वाइज युनाइटेड काँकरभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा खेलमैदानमा आइतबार सम्पन्न दोश्रो क्वाटरफाइनल खेलमा झापा एफसीलाई सडनडेथमा ५–४ गोलले हराउँदै चर्च ब्वाइजले सेमिफाइनलको यात्रा तय गरेको हो ।
निर्धारित ९० मिनेटको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । टाइब्रेकरमा पनि ४–४ को बराबरी भएपछि खेल सडनडेथमा गएको थियो । सडनडेथमा चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापाले गोल सफल भए भने झापाका धिरज विष्टको प्रहार गोलरक्षक थापाले बचाउ गरेका थिए ।
टाइब्रेकरमा चर्च व्वाइजका राजेश परियार, जय गुरुङ, एकराज बुढाथोकी र रिचार्ड विल्सनले गोल गर्न सफल भए पनि सुरजज्यू ठकुरीको प्रहार झापाका गोलरक्षक कृशल मोक्तानले बचाए । झापाका रोशन पहारी, प्रविन बस्नेत, बाफोर र गौरब धिमालले प्रहार गोल भएको थियो भने अभिनाश स्याङ्तानको प्रहार बाहिरिएको थियो ।
खेलको ६९ औँ मिनेटमा चर्च व्वाइजका लागि विदेशी खेलाडी रिचार्डले गोल गर्दै अग्रता दिलाएका थिए । अबयोमि फकुन्लेले पेनाल्टी एरियामा दिएको पासमा झापाका २ जना डिफेन्डरलाई बिट गर्दै उनले सुन्दर गोल गरेका थिए । खेलको ९० औँ मिनेटमा झापाका कप्तान श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । चर्च व्वाइजका डिफेन्डरबाट रिबाउन्स भएको बललाई मुर्मुले वान टचमा गोल गर्न सफल भए ।
खेलको १६ औँ मिनेटमा झापा एफसीका धिरज विष्टको प्रहारलाई चर्च व्वाइजका गोलरक्षक टेकन्द्र थापाले बचाए । १९ औँ मिनेटमा झापाका प्रविन बस्नेतको प्रहारले गोलपेष्टको दिशा लिन सकेन । २१ औँ मिनेटमा झापाकै विदेशी खेलाडी फैजलको प्रहार पोल नजिकैबाट बाहिरियो । २७ औँ मिनेटमा चर्च व्वाइजका विदेशी खेलाडी सर्जे डिकाको प्रहार पोष्ट नजिकबाट बाहिरियो ।
२८ औँ मिनेटमा झापाका कप्तान आर्यन राईको प्रहारले पनि पोष्टमाथिबाट बाहिररियो । ३२ औँ मिनेटमा झापाली कप्तान आर्यान राई घाइते भएपछि श्याम मुर्मुलाई कप्तानको जिम्मेवारी दिइएका थियो । ३४ औँ मिनेटमा झापाका अभिशेक स्याङ्तानको प्रहार चर्च व्वाइजका गोलरक्षक टिकेन्द्र थापाले उत्कृट बचाउ गरे । खेलको ३९ औँ मिनेटमा चर्च व्वाइजले पाएको फ्री किकले समेत गोलको दिशा लिन सकेन । पहिलो हाफको खेलमा दुबै टिमले मौका पाए पनि गोल गर्न चुके ।
खेलको ५० औँ मिनेटमा चर्च व्वाइजका सुरजज्यू ठकुरीको कर्नर प्रहार पनि विफल भयो । खेलको ७२ औँ मिनेटमा चर्च व्वाइजले खेललाई दोब्बर बनाउने मौका पाए पनि चुक्यो । खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका गोलरक्षक टिकेन्द्र थापा भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सोमवारको खेल धरान एफसी र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच हुनेछ ।
खेलपछि विजेता चर्च व्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले दर्शकको अपेक्षा अनुसारको खेल पस्किन नसकेको बताए । उनले व्यस्त खेल तालिकाका कारण खेलाडीहरु थाकेकाले चाहेजस्तो प्रदर्शन हुन नसकेको बताए । त्यस्तै, झापा एफसीका प्रशिक्षक प्रवेश कटुवालले एनएसएलको तयारीका लागि केही खेलाडी मात्र मैदानमा उतारेको बताए । उनले पूर्ण टिम भएको भए नतिजा अर्कै हुने दाबी गरे ।
प्रतियोगिताको बिजेता टिमले नगद १० लाख र ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले नगद ५ लाख र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा नेपालका ६ सहित भारत र उज्वेकिस्तानको टिम सहभागी छ ।