पाँचौ मेचीनगर गोल्डकपः जर्जियन एफसीलाई हराउँदै आयोजक सेमिफाइनलमा

मेचीनगर । पाँचौं मेचीनगर गोल्डकपमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले शानदार जीतसहित सेमिफाइनल यात्रा तय गरेको छ । काँकरभिट्टा खेलमैदानमा शनिबारबाट सुरु भएको पहिलो खेलमा आयोजकले पाहुना टोली जर्जियन फुटबल क्लब भारतलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो ।
खेलको २८ औं मिनेटमा जर्जियन खेलाडी सत्यम शर्माले टिमका लागि पहिलो गोल गरे । जर्जियनका खेलाडी कुञ्जमान थापालाई काँकरभिट्टाका सञ्जय लिम्बूले फाउल गरेपछि पाएको फ्रिकिकलाई सत्यम शर्माले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा काँकरभिट्टाका निशान लिम्बूले बराबरी गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए । जर्जियनका खेलाडीले काँकरभिट्टाका विदेशी खेलाडी इब्राहिमलाई फाउल गरेपछि पाएको पेनाल्टीलाई निशानले गोलमा परिणत गरेका थिए ।
पहिलो हाफ आयोजकलाई दवावमा राखेको जर्जियन एफसीले दोश्रो हाफ भने फितलो प्रदर्शन गरेको थियो । दोश्रो हाफमा काँकरभिट्टाले ३ गोल गरेको थियो भने जर्जियन एफसीले एक गोल मात्र गरेको थियो । खेलको ५० औं मिनेटमा काँकरभिट्टाका लागि विदेशी खेलाडी इब्राहिमले गोल गर्दै टिमलाई अग्रता दिलाए । कप्तान खमिरगिल्सन कन्दङ्वाको पासलाई हेडिङमार्फत गोल गर्दै इब्राहिमले टिमलाई २–१ को स्थितिमा पुर्याएका थिए । पाहुना टोलीलाई दबाबमा राख्दै एकपछि अर्को गोल गरेको काँकरभिट्टाले खेलको ६१ औँ मिनेटमा निशान लिम्बूले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरेका थिए । खेलको ६५ औं मिनेटमा काँकरभिट्टाका तर्फबाट विदेशी खेलाडी रोर्बटले गोल गर्दै टिमको अग्रता ४–१ को स्थितिमा पुर्याए । खेलको इञ्जुरी समयमा जर्जियन एफसीका सत्यम शर्माले थप एक गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन । उद्घाटन खेलको प्लेयर अफ द म्याच काँकरभिट्टाका निशान लिम्बू घोषित भए । उनले नगद ११ हजार र ट्रफी प्राप्त गरे । आइतबारको खेल ‘ए’ डिभिजन च्याम्पियन चर्च व्वाइज र एनएसएल टिम झापा एफसीबीच प्रतिस्पर्धा हुने काँकरभिट्टा फुटबल टे्रनिङ सेन्टरका अध्यक्ष नवराज ओलीले बताए ।
चैत २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेता टिमले नगद १० लाख र ट्रफी तथा उपविजेता टिमले नगद ५ लाख र टफ्री प्राप्त गर्नेछन् । यसैगरी, प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले नगद ५१ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार, उत्कृष्ट कोच र उत्कृष्ट गोलरक्षकले नगद २१ हजार, उदयमान खेलाडीले ११ हजार प्राप्त गर्नेछन् ।
यस अघि उद्घाटन समारोह सम्पन्न भएको थियो । विभिन्न जातजातिको झाँकीसहित बजार परिक्रमा गरेर खेल मैदानमा आएका अतिथि तथा दर्शकहरुका बीच नेपाली कांग्रेस कोशी प्रदेशका प्रमुख सचेतक तथा प्रदेश सभा सदस्य माननीय गोपाल तामाङले उद्घाटन गरेका थिए ।
फुटबल आयोजक समितिका संयोजक श्रीप्रसाद मैनालीको सभापतित्वमा सम्पन्न समारोहमा मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मीना उप्रेतीलगायत विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वको सहभागिता रहेको थियो । आयोजकका सहसंयोजक विमल आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजु कार्कीले गरेका थिए । उद्घाटन कार्यक्रममा इष्ट होराइजन अंग्रेजी मावि र झापा नेशनल इङ्लिस स्कुलका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए भने स्काउट दलले मार्च पास गरेका थिए ।