२०८१ चैत्र १४, ०२:५८
#खेलकुद #ब्रेकिङ न्युज

दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताः आदर्शले उचाल्यो उपाधि

नकलबन्दा । दोश्रो नकलबन्दा नगरस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आदर्श युवा क्लबले उचालेको छ । आदर्शले धुलाबारी फुटबल क्लबलाई ३–२ गोल अन्तरले हराउँदै च्याम्पियन बनेको हो । उपाधि जितेसँगै आदर्श युवा क्लबले नगद ५० हजार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता बनेसँगै धुलाबारीले नगद ३० हजार, ट्रफी तथा प्रमाणपत्र हात पार्‍यो ।
फाइनल खेलको सातौँ मिनेटमा आदर्शले एक गोल उपहार पाएको थियो । आदर्शका रोजिन माझीले गरेको प्रहार धुलाबारीका गोलरक्षक युवराज डाँगीले रोक्दा रिवाउन्ड भएको बलले धुलाबारीकै खेलाडीलाई लाग्दै गोल भएको थियो । पहिलो हाफमा आदर्शले धुलाबारीलाई दवावमा राखेको थियो । १९ औँ मिनेटमा धुलाबारीका निरज कार्कीले बराबरी गर्ने मौका गुमाए । गोलरक्षक रिजन ल्वागुन विट भइसकेको बललाई पोष्टको दिशा दिन नसक्दा पहिलो हाफ १–० मा सकिएको थियो ।
दोश्रो हाफ दुवै टिम आक्रामक बनेको थियो । दुवै टिमले दोश्रो हाफमा २–२ गोल गरेको थियो । धुलाबारीका निरज कार्कीले ३८ औँ मिनेट बराबरी गोल गर्दै धुलाबारीलाई खेलमा फर्काएका थिए । ५ मिनेट बित्न नपाउँदै आदर्शका सुजन मगरले गोल गर्दै खेललाई २–१ को स्थितिमा पुर्‍याएका थिए । लङ रेन्जबाट उनले गरेको सर्ट पोलमा लाग्दै गोल भएको थियो । आदर्शका जर्सी नम्बर ७ का प्रशान्त राईले ४९ औँ मिनेटमा गोल गर्दै टिमको अग्रता ३–१ बनाएका थिए । धुलाबारीका आदित्य ढुंगेलले इञ्जुरी समयमा गोल गरेपनि टिमको हार टार्न सकेनन्‌ । खेलमा आदर्श ३–२ गोल अन्तरले विजयी बन्यो ।
खेलको म्यान अफ दि म्याच आदर्शका सुजन मगर घोषित भए । उनले १ हजार नगद, ट्रफी हात पारे । प्रतियोगितामा सर्वाधिक गोलकर्ता धुलाबारीका निरज कार्की, सर्वोत्कृष्ट खेलाडी आदित्य ढुंगेल, उत्कृष्ट गोलरक्षक आदर्शका रिजन ल्वागुन घोषित भए । उत्कृष्ट घोषित गोलरक्षकले ३ हजार १ सय, प्लेयर अफ द टुर्नामेन्टले २ हजार १ सय र सर्वाधिक गोलकर्ताले २ हजार १ सयसँगै मेडल र प्रमाण पत्र प्राप्त गरे ।
मेची आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन भएको फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि शुरु भएको थियो । प्रतियोगिताको प्रथम पुरस्कार स्वर्गीय कार्गिल विजयवीर सहिद सुरेश क्षेत्रीको परिवारबाट प्राप्त भएको थियो भने दोश्रो पुरस्कार स्व. टंक बहादुर देवकोटाको स्मृतिमा देवकोटा परिवारबाट प्राप्त भएको हो । प्रतियोगिताको प्रायोजकमा नकलबन्दा बचत तथा ऋण सहकारी संस्था लि. रहेको थियो भने सहयोगी संस्थाहरुमा गंगा मेमोरियल इङ्लिस स्कुल र मेची आधारभूत विद्यालय रहेका थिए ।
प्रतियोगिताको समापन कार्यक्रममा मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मेचीनगर–५ का वडा अध्यक्ष कनकबहादुर कार्की, स्वर्गीय कार्गिल विजयवीर सहिद सुरेश क्षेत्रीका दाजु नेत्रराज क्षेत्री, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केशरप्रसाद तिम्सिना, संस्थाको आर्थिक संयोजक नारायण खड्का, सल्लाहकार संयोजक पर्शुराम पराजुली, मेचीनगर–५ का वडा सदस्य पुष्पकुमार गेलाल, देविमाया विक, मेचीनगर–६ का वडा सदस्य सीमा रसाइली, भविन्द्र सुब्बा, नकलबन्दा समाज विकास समितिका अध्यक्ष इन्द्र तामाङ, समाजसेवी सुरज देवकोटा, होमराज गुरुङ, नकलन्दा साकोसका व्यवस्थापक महेन्द्रबहादुर कुँवर, पूर्व जनप्रतिनिधि मेघराज गेलाललगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका कोषाध्यक्ष निखिल खड्काको सभापतित्व रहेको कार्यक्रमको स्वागत संस्थाका सदस्य किशोर उपरकोटीले र सञ्चालन सचिव सुरज तामाङले गरेका थिए । कार्यक्रममा गंगा ममोरियल इङ्लिस स्कुलका विद्यार्थीले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *