किरात याक्थुङ चुम्लुङ मेचीनगरको सातौँ अधिवेशनः शनिबार नयाँ नेतृत्व चयन गरिने

मेचीनगर । किरात याक्थुङ चुम्लुङ मेचीनगर नगर समितिको सातौं नगर अधिवेशन सम्पन्न भएको छ । शुक्रबार किरात याक्थुङ चुम्लुङ सामुदायिक भवन मेचीनगर–८ मा नगर समितिको सातौं नगर अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले नगर समितिमा नयाँ नेतृत्व समेत चयन गर्नेछ । यद्यपी समय अभावका कारण नयाँ कार्यसमिति चयनले शुक्रबार अन्तिम रुप लिन सकेन ।
सर्वसम्मतीको प्रक्रियाबाट नयाँ नेतृत्व चयन हुने भएकाले शनिबार कार्यसमिति चयन हुने जनाइएको छ । किरात याक्थुङ चुम्लुङका केन्द्रिय सचिव अभिषेक एक्तेन (चक्र) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याप्टेन गोपिलाल लिङदेन, जिल्ला उपाध्यक्ष हस्त आङदेम्बे, पूर्व जिल्ला अध्यक्ष टेकबहादुर आङदेम्बे (भरत), पूर्व जिल्ला सचिव जीवन सिंघक, पूर्व जिल्ला कोषाध्यक्ष धिरावती पालुङवा, पूर्व नगर अध्यक्ष हर्क सुब्बा फ्याक, प्रेम सम्बाहाम्फे, मैतमाया इदिङगो, दिलिप आङबुङ, चन्द्रकुमार इवारम लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एक्तेनसँगै पूर्व जिल्ला अध्यक्ष आङदेम्बे, पूर्व नगर अध्यक्ष फ्याक, दिलिप आङदेम्बे लगायतले शुभकामना मन्तव्य राखेका थिए । अधिवेशनको बन्द शत्रले ५ सदस्ययीय निर्वाचन समिति समेत गठन गरेको छ । हस्त आङदेम्बेको संयोजकत्वमा गठित समितिको सदस्यहरुमा टेकबहादुर आङदेम्बे, जीवन सिंघक, चन्द्रकुमार इवारम, मिनमाया इदिङगो रहेका छन् ।
कार्यक्रममा संस्था सञ्चालनमा पुर्याएको योगदानको कदर गर्दै क्याप्टेन गोपिलाल लिङदेनलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो भने संस्कृति झल्काउने विविध च्याब्रुङ लगायतका नृत्य प्रस्तुत गरिएको थियो । यसैगरी कार्यक्रममा नै नगरका १५ वटै वडाका अध्यक्षहरु तथा वर्तमान कार्यसमितिका सबै पदाधिकारी सदस्यहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
वर्तमान समितिका अध्यक्ष धनप्रसाद केरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत बिरु बेघाले गरेका थिए भने सचिव मिना इजम र सहसचिव राजेन्द्र इदिङगोको संयुक्त सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।